उत्तरी गोरखामा स्ट्रेचर नै एम्बुलेन्स, प्रहरी नै साहारा

सडक सञ्जाल विस्तार नभएको‍ चुमनुब्री गाउँपालिकाका साँघुरा बाटोमा स्ट्रेचरमा बिरामीलाई स्वास्थ्य चौकीसम्म पुर्‍याउन पनि सहज छैन। छरिएका बस्ती पुग्न घण्टौं पैदल यात्रा गर्नुपर्दा विरामी बोक्न पनि प्रहरी गुहार्नु पर्छ ।

श्रावण ८, २०८३

हरिराम उप्रेती

In northern Gorkha, stretchers serve as ambulances, and the police are the only support

गोरखा — उत्तरी गोरखाको साँघुरो बाटोमा स्ट्रेचरको सहायताले बिरामीलाई स्वास्थ्य संस्थातर्फ लैजान दुई दिनसम्म प्रहरी सहयोगी बने। बिहीबार सुत्केरी व्यथाले च्यापेकी चुमनुब्री–३ पाङसिङकी २८ वर्षीया सृजना गुरुङलाई प्रहरीले झन्डै डेढ घण्टा बोकेर सिर्दिवास स्वास्थ्य चौकी पुर्‍यायो।

सिर्दिवासस्थित स्वास्थ्य चौकीमा पैदल आइरहेकी गुरुङलाई बीच बाटोमै स्वास्थ्यमा समस्या देखिएको थियो। उनका आफन्तले प्रहरी चौकी सिर्दिवासमा खबर गरेपछि प्रहरी टोलीले उनलाई स्ट्रेचरमा राखेर स्वास्थ्य चौकीसम्म पुर्‍यायो। चौकी पुगेपछि उनले बच्चा जन्माइन्। अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ।

सडक सञ्जाल विस्तार नभएको भौगोलिक रूपमा विकट चुमनुब्री गाउँपालिकामा पैदलमार्ग पनि साँघुरा छन्। स्ट्रेचरमा राखेर बिरामीलाई स्वास्थ्य चौकीसम्म पुर्‍याउन पनि सहज छैन। तर यहाँ स्ट्रेचर नै एम्बुलेन्सजस्तै बनेको छ भने प्रहरी साहारा बनेका छन्। छरिएका बस्ती पुग्न घण्टौं पैदल यात्रा गर्नुपर्छ।

बिहीबार दिउँसो चुमनुब्री–४ छाक गाउँकी २९ वर्षीया पेमा खाण्डो लामाले मृत बच्चा जन्माइन्। घरमै सुत्केरी भएकी लामाको स्वास्थ्य अवस्था जटिल देखिएपछि लार्केबजार स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी घरमै पुगे।

साँझ अबेर हेलिकप्टरबाट उद्धार हुन नसकेपछि उपचारका लागि थप औषधिको आवश्यकता पर्‍यो। स्वास्थ्यकर्मीले लार्केबजार स्वास्थ्य चौकीसँग समन्वय गरेपछि इलाका प्रहरी कार्यालय लार्केबजारको प्रहरी टोली तीन घण्टा हिँडेर औषधिसहित राति १ बजे छाक गाउँ पुग्यो।

शुक्रबार दिउँसोसम्म पनि स्वास्थ्यमा सुधार नआएपछि पेमालाई गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको गर्भवती तथा सुत्केरी जोखिम उद्धार कार्यक्रमअन्तर्गत हेलिकप्टर चार्टर गरेर उद्धार गरिएको छ। उनलाई हेलिप्याडसम्म पुर्‍याउन पनि प्रहरी टोली नै सहयोगी बनेको थियो।

In northern Gorkha, stretchers serve as ambulances, and the police are the only support

रक्तस्रावका कारण उनको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए। 

घरमै बच्चा जन्माएकी पेमाको स्वास्थ्य अवस्था जटिल बनेपछि बिहीबार लार्केबजार स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी घरमै पुगेर उपचार गरेको उनले बताए। ‘घरमै बच्चा जन्माउनु भएको रहेछ। स्वास्थ्य अवस्था जटिल भनेर ढिला मात्र थाहा भयो। बिहीबार रातिसम्म पनि स्वास्थ्यकर्मी घरमै पुगेर उपचार गर्नुभयो,’ उनले भने, ‘थप उपचारका लागि हेलिकप्टर समन्वय गरेर पोखरा पठाएका छौं।’

गाउँपालिकाले गर्भवती महिलालाई अनिवार्य संस्थागत सुत्केरी हुन, नियमित गर्भवती जाँच गराउन तथा स्वास्थ्यकर्मीको परामर्श र सम्पर्कमा रहन आग्रह गरेको छ। जटिल अवस्थाका बिरामीको उद्धारमा स्वास्थ्यकर्मीसँगै प्रहरी पनि सँगसँगै हुने गरेको उनले बताए। ‘हिजो (बिहीबार) पनि प्रहरीले एक जना गर्भवतीलाई बोकेर सिर्दिवास स्वास्थ्य चौकीसम्म ल्याउनुभयो। आज (शुक्रबार) पनि हेलिप्याडसम्म प्रहरीले नै बोकेर पुर्‍याउनुभयो,’ उनले भने, ‘दुर्गम ठाउँ भएकाले छिटो उद्धार गर्नुपर्ने हुन्छ। प्रहरीको सहायता लिँदा छिटो र सहज पनि हुन्छ।’

उत्तरी गोरखामा प्रहरीले यसअघि असार १८ गते पनि चुमनुब्री–४ गापबाट २६ वर्षीया छेवाङ भुटी लामालाई बोकेर स्वास्थ्य चौकी पुर्‍याएको थियो। प्राकृतिक विपत्तिमा परेका तथा आकस्मिक रूपमा बिरामी पर्नेहरूलाई पनि प्रहरीले उद्धार गर्ने गरेको छ।

गत असार १७ गते चुमनुब्री–३ सिर्दिवाबाट ल्हो जाने क्रममा अचानक बेहोस भएर बाटोमै ढलेकी कोपिला पन्तको पनि प्रहरीले उद्धार गरेको थियो। पन्तलाई पनि स्ट्रेचरको सहायताले फिलिम स्वास्थ्य चौकी पुर्‍याइएको थियो।
जटिल अवस्थाका बिरामीलाई हेलिकप्टरबाट उद्धार गर्नुपर्ने भएकाले पनि सुरुमा प्रहरीलाई नै खबर गर्ने गरिएको चुमनुब्री–३ का सोमप्रसाद गुरुङ बताउँछन्। ‘बिरामी भयो भने स्वास्थ्य चौकी जाने हो। ठूलो बिरामीको त यहाँ उपचार नै सम्भव हुँदैन। हिँडेर स्ट्रेचरमा राखेर लाँदा दुई–तीन दिन लाग्छ,’ उनले भने, ‘हेलिकप्टर चाहियो भनेर धेरै ठाउँमा भन्नुपर्छ।’  विकट भूगोलमा छरिएको बस्ती भएकाले आकस्मिक उद्धारमा प्रहरी चौकीमा खबर गर्नुको विकल्प नभएकाे उनले बताए।

मनास्लु पदमार्गमा ढुंगा झरेर पनि पैदलयात्री घाइते हुने गर्छन्। आकस्मिक रूपमा घाइते भएकालाई पनि महँगो शुल्क तिरेर हेलिकप्टरमार्फत काठमाडौं पुर्‍याउनुपर्ने बाध्यता यस क्षेत्रका स्थानीयको छ। ‘भनेको बेला मान्छे जम्मा हुन पनि समय लाग्छ। जुनसुकै समस्या हुँदा पनि प्रहरीसँगै उद्धारमा हामी गाउँले पनि हुन्छौं,’ उनले भने, ‘प्रहरी चौकी पनि टाढाटाढा छन्। कुनै घटना घटे गाउँलेले बोकेर लैजाने, प्रहरीलाई खबर गर्ने पनि हुन्छ।’

उत्तरी क्षेत्रमा विपत्ति, प्राकृतिक प्रकोप र जटिल प्रकृतिका बिरामीको उद्धार धेरै हुने गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए। ‘उत्तरी गोरखामा आकस्मिक रूपमा बिरामी हुने, चोटपटक लाग्ने जस्ता घटना भइरहन्छन्,’ उनले भने, ‘यही असार लागेपछि पनि चार जना बिरामीलाई प्रहरीले बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याएको छ। हरेक सुखदुःखमा प्रहरी सँगसँगै छ।’ भौगोलिक विकटताका कारण आकस्मिक बिरामीको उद्धारमा छिटो र सहज रूपमा परिचालन हुन प्रहरी सधैं सचेत रहने गरेको डीएसपी श्रेष्ठले बताए।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully