स्रोत नखुलेको ६ लाख ६६ हजारसहित उपसचिव विमानस्थलबाट पक्राउ

राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख एवं उपसचिव मिङ्मार तामाङ स्रोत नखुलेको ६ लाख ६६ हजार रुपैयाँ नगदसहित विराटनगर विमानस्थलबाट पक्राउ परेका छन्।

श्रावण ८, २०८३

पर्वत पोर्तेल

Undersecretary arrested at airport with 666,000 of undisclosed source

विराटनगर — राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख एवं उपसचिव मिङ्मार तामाङ स्रोत नखुलेको ६ लाख ६६ हजार रुपैयाँ नगदसहित विराटनगर विमानस्थलबाट पक्राउ परेका छन्। 

गत साउन ३ गते उनी पक्राउ परेका थिए। प्रहरीले ढिलो मात्रै घटनाबारे जानकारी गराएको छ। दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका तामाङ बुद्ध एयरको उडानमार्फत विराटनगरबाट काठमाडौं जान लागेका थिए। नियमित सुरक्षा जाँचका क्रममा उनले बोकेको कालो झोलाभित्र लुकाएर राखिएको १ हजार दरका ५ सय ७५ थान र ५ सय दरका ३ सय थान गरी ६ लाख ६६ हजार रुपैयाँ फेला परेको थियो।

बरामद रकमको वैधानिक स्रोतबारे सोधपुछ गर्दा तामाङले सन्तोषजनक जवाफ दिन नसकेपछि विमानस्थल सुरक्षा गार्डले उनलाई नियन्त्रणमा लिएका थिए। विमानस्थलमा खटिएका प्रहरी नायब निरीक्षक (सई) राजेन्द्र तिम्सिनाले थप अनुसन्धानका लागि तामाङलाई बरामद रकमसहित जिल्ला प्रहरी कार्यालय मोरङको आर्थिक अपराध शाखामा बुझाएका थिए।

तर, जिल्ला प्रहरी कार्यालयले गुपचुप पार्न खोजेको आरोप छ।  घटनालाई सार्वजनिक नगर्न माथिल्लो तहबाट दबाब परेको दाबी पनि गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालले घटना अनुसन्धानकै क्रममा रहेको बताए। उनले पक्राउ परेका व्यक्तिले रकमको वैधानिक स्रोत पुष्टि गर्न नसकेको जनाए। उनका अनुसार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेश गर्ने तयारी भइरहेको छ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully