वैकल्पिक व्यवस्थापनको माग गर्दै सुकुमवासीद्वारा माइतीघरमा प्रदर्शन

सरकारले गत १२ र १३ वैशाखमा काठमाडौं उपत्यकाका विभिन्न खोला तथा नदी किनारमा रहेका सुकुमवासी बस्तीमाथि डोजर चलाएको थियो ।

श्रावण ७, २०८३

न्युज एजेन्सी नेपाल

Squatters stage protest at Maitighar demanding alternative management

काठमाडौं — भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरूले बसोवास तथा जग्गाको स्वामित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै बिहीबार पनि आन्दोलन जारी राखेका छन् । सरकारले वैकल्पिक व्यवस्थापन नगरी उठिबास लगाएको भन्दै उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन जारी राखेका हुन् ।

सरकारले समस्या समाधान नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरूको भनाइ छ । सुकुमवासी नागरिक प्रेमबहादुर तामाङले सरकारले सुकुमवासी र हुकुमवासी नछुट्याइ सबैलाई एउटै डालोमा हाल्ने काम गरेको भन्दै आपत्ति जनाए ।सरकार भूमि भएका र नभएका नागरिकको छानबिन गरेर मात्र सुकुमवासी बस्ती हटाउनुपर्नेमा त्यसो नगरेको उनको भनाइ छ ।उनले आफूहरूको वैकिल्पक व्यवस्थापन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिए ।

उनले भने, ‘जबसम्म सरकारले सुकुमवासी नागरिकको उचित व्यवस्थापन गरेर समस्या समाधान गर्दैन तबसम्म हाम्रो आन्दोलन जारी रहन्छ । आन्दोलन झन चर्किंदै जान्छ । किनभने पूर्वसूचना समेत नदिई एक दिनको सूचनाको आधारमा सुकुमवासीको बास उठाइदियो । कोसँग भूमि छ ? कोसँग छैन ? सुकुमवासी हो कि हुकुमवासी हो ? सरकारले छानबिन गर्न सक्छ । यसरी सपनामा जस्तो सुकुमवासी नागरिकलाई तितरबितर गर्न पाउँदैनथ्यो ।हाम्रो उचित व्यवस्थापन नहुँदासम्म आन्दोलनमा रहन्छ ।’

सरकारले गत १२ र १३ वैशाखमा काठमाडौं उपत्यकाका विभिन्न खोला तथा नदी किनारमा रहेका सुकुमवासी बस्तीमाथि डोजर चलाएको थियो । १५ दिनभित्र वैकल्पिक व्यवस्थापन गर्ने भने पनि सरकारले सुकुमवासी तथा अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन गर्न सकेको छैन ।

न्युज

Link copied successfully