उनीहरुमाथि ३९ करोड ३९ लाख ६६ हजार ३३३ रुपैयाँबराबरको सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याएको आरोप लागेको छ ।
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सर्लाहीको बागमती नगरपालिकास्थित बागमती फन पार्क एन्ड रिसोर्ट निर्माणका क्रममा अनियमितता गरेको भन्दै मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री साह, तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुर, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरतकुमार थापा र बिकोई/धुलिखेल जेभी, बानेश्वर, काठमाडौंविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
मुद्दा दायर हुनेहरुमा बागमती नगरपालिकाकी तत्कालीन नगर उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, मधेश सरकारको अर्थ मन्त्रालयका तत्कालीन उपसचिव उद्धवराज न्यौपाने छन् ।
उनीहरुमाथि ३९ करोड ३९ लाख ६६ हजार ३३३ रुपैयाँबराबरको सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याएको आरोप लागेको छ । आरोपितहरुसँग २० करोडदेखि ३९ करोड रुपैयाँसम्म बिगो माग दाबी गरिएको अख्तियार प्रवक्ता सुरेश न्यौपानेद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
