वैदेशिक रोजगार ठगीमा परेका व्यक्तिको अनलाइनबाटै उजुरी दर्ता सुरु

विभागले उजुरी तथा मुद्दा व्यवस्थापन प्रणालीसँग सम्बन्धी छुट्टै अनलाइन व्यवस्था गरेको हो ।

श्रावण ६, २०८३

कान्तिपुर संवाददाता

Online registration of complaints by victims of foreign employment fraud begins

What you should know

काठमाडौँ — वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ठगीमा परेका व्यक्तिले उजुरी दिन काठमाडौं आउनु नपर्ने भएको छ । अब मंगलबारबाट प्रमाणसहित अनलाइनबाटै उजुरी दर्ता गर्न सक्ने भएका छन् ।

विभागले उजुरी तथा मुद्दा व्यवस्थापन प्रणालीसँग सम्बन्धी छुट्टै अनलाइन व्यवस्था गरेको हो । यसमा वैदेशिक रोजगारीमा पठाउने भनी रकम लिई नपठाएको, तोकिएभन्दा बढी शुल्क लिएको, राहदानी कब्जा गरेको, विदेशमा करार सम्झौता बमोजिमको काम, तलब, सेवा सुविधा नपाएको लगायतका विषयमा स्वदेश वा विदेशबाट नै पीडित वा परिवारका सदस्यले उजुरी गर्न सक्ने व्यवस्था गरिएको छ ।

विभागका महानिर्देशक मिरा आचार्यले अनलाइनबाट पठाएको उजुरीलाई सम्बित शाखाले अनुसन्धान प्रक्रिया अगाडि बढ्ने बताए । 

‘उजुरीलाई छानबिन गर्ने विभागमा तीन वटा शाखा छन् । अनुगमन, उद्धार र मुद्दा शाखा छ । जुन शाखासँग उजुरी सम्बन्धित छ । त्यहाँ जान्छ,’ महानिर्देशक आचार्यले भनिन्, ‘यसलाई छानबिन गरेर दर्ता हुन योग्य उजुरी दर्ता हुन्छ ।’

उनले दर्ता भएपछि उजुरीकर्तालाई विभागमा समय दिएर बोलाइने बताए । 

प्रणालीले वैदेशिक रोजगार विभागको मुद्दा तथा उजुरी व्यवस्थापनको कार्यलाई छिटो, छरितो, सरल, सहज र पीडितमैत्री बनाउने, कारबाही प्रक्रियाको अभिलेख व्यवस्थित बनाउने र मुद्दा तथा उजुरीको अवस्थाबारे सम्बन्धित उजुरीकर्तालाई इमेल तथा एसएमएसमार्फत जानकारी दिने विभागले जनाएको जनाएको छ ।

वैदेशिक रोजगारसम्बन्धी उजुरी ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा दिन सकिन्छ । उजुरीको कारबाही प्रक्रिया सम्बन्धित जिल्लाबाटै हुने हुँदा उजुरीकर्तालाई काठमाडौं धाइरहनुपर्ने बाध्यताको समेत अन्त्य हुनेछ । जिल्ला भित्रका साधारण प्रकृतिका वैदेशिक रोजगार ठगीका घटना जिल्लामै मिलापत्र हुने र मिलापत्र हुन नसकेका तथा गम्भीर प्रकृतिका ठगीका घटनाको अनुसन्धानको कार्य मात्र वैदेशिक रोजगार विभागबाट हुने अवस्था सुनिश्चित हुनेछ । 

यसबाट वैदेशिक रोजगार ठगीका पीडितलाई न्याय दिलाउन, वैदेशिक रोजगारीमा जाने वा गएका श्रमिकलाई राहत तथा क्षतिपूर्ति दिलाउन एवं अलपत्र परेका कामदारलाई उद्धार गर्न सहज हुनेछ ।

विभागमा संस्थागत भन्दा बढी व्यक्तिगत उजुरी पर्ने गरेको छ ।

कान्तिपुर

Link copied successfully