पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय उडान सहुलियत भदौ २०८५ सम्म लम्बियो

दुवै अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानले ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट पाउने छन्

श्रावण ६, २०८३

कान्तिपुर संवाददाता

International flight concessions at Pokhara and Bhairahawa extended until Bhadra 2085

काठमाडौं — सरकारले पोखरा र गौतमबुद्ध (भैरहवा) अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई आकर्षित गर्न दिएको सहुलियत सुविधाहरूलाई भदौ मसान्त २०८५ सम्म निरन्तरता दिने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा यो निर्णय गरेको हो । यसअघि भदौ २०८३ सम्मका लागि तय गरिएको उक्त सहुलियत अवधि लम्ब्याएर भदौ मसान्त २०८५ सम्म पुर्‍याइएको छ।

सरकारको नयाँ व्यवस्था अनुसार भदौ २०८५ सम्म दुवै अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानका लागि ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिइने छ।

साथै, यसअघि नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ सेवाबापत लिँदै आएको शुल्कमा २५ प्रतिशत मात्र छुट दिइएकोमा अब त्यसलाई बढाएर ५० प्रतिशत छुट दिने स्वीकृति प्रदान गरिएको छ।

यसअघि सरकारले यात्रु सेवा शुल्कमा छुट दिने निर्णय गरे पनि भदौपछि भने यात्रुले तिर्नुपर्ने विमानस्थल सेवा शुल्क लागु हुने भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार चार्टर उडानको हकमा पनि अब छुट सुविधा पाइने छैन। भदौपछि चार्टर उडानका सबै शुल्क उडानकर्ता तथा यात्रुले अनिवार्य रूपमा तिर्नु पर्नेछ।

कान्तिपुर

Link copied successfully