बनेपा होल्डिङ सेन्टरमा रहेका विस्थापित सुकुमवासीलाई इचंगुनारायण लगिँदै

बनेपामा रहेकी रीमा पोखरेलले आफूहरू इचंगुनारायण जान लागेको बताइन् । ‘म त जाने भएँ । अब उता केही दिन बसेर कोठा खोज्छु । नपाइन्जेल र व्यवस्था नभइन्जेल बस्छु,’ उनले भनिन् ।

श्रावण ६, २०८३

समर्पण श्री

Displaced squatters at Banepa Holding Center being relocated to Ichangu Narayan

काठमाडौँ — सरकारले बनेपा नगरपालिका–६ बुडोलस्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा बसिरहेका विस्थापित सुकुमवासीहरूलाई नार्गाजुनस्थित इचंगुनारायण होल्डिङ सेन्टरमा सार्न लागेको छ । 

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका समाजशास्त्री खगेन्द्र विष्टका अनुसार उनीहरूलाई आजै इचंगुनारायण लगिँदै छ । ‘हामी अहिले बनेपाको होल्डिङ सेन्टरमा छौँ । अहिले उहाँहरूलाई गाडीमा राखेर लैजाने तयारीमा छौँ । आज दिउँसै इचंगुनारयाण पुग्छौँ,’  विष्टले भने ।

उनका अनुसार सरकारले गत असार २२ गतेदेखि नै बनेपाको होल्डिङ सेन्टर खाली गर्ने तयारी गरेको थियो । त्यही तयारीस्वजरुप खाना रोकिएको थियो । ‘इचंगुनारायणमा नियमित खानाको व्यवस्था पनि छ । उहाँहरूलाई सहज हुनेछ,’ उनले भने ।

बनेपामा रहेकी रीमा पोखरेलले आफूहरू इचंगुनारायण जान लागेको बताइन् । ‘म त जाने भएँ । अब उता केही दिन बसेर कोठा खोज्छु । नपाइन्जेल र व्यवस्था नभइन्जेल बस्छु,’ उनले भनिन् । रीमाका अनुसार केही विस्थापित भने नजाने मनस्थितिमा छन् । ‘किन नजाने भनेर त थाहा छैन । तर त्यहीँ बस्ने भन्नुभएको छ,’ उनले भनिन् । 

विष्टका अनुसार एक दुई परिवारले उक्त होल्डिङ सेन्टर छाड्न मानिरहेका छैनन् । ‘उहाँहरू अब यहीँबाट कोठा खोजेर मात्र निस्कने भन्नुभएको छ । थप कुरा भइरहेको छ,’ उनले भने ।

बनेपामा होल्डिङ सेन्टरमा हाल करिब १५ परिवार बसिरहेका छन् । गत असार २२ गतेदेखि खाना रोकेपछि उनीहरू थप समस्यामा परेका थिए ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully