सरकारले नेपालीको परिवारसँग सहमति गरेर छानबिनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा स्वतन्त्र समिति बनाउने भनेको छ । तर, यसअघि नै गठन भएको प्रहरीको आन्तरिक समितिले धमाधम बयान लिइरहेको छ ।
What you should know
काठमाडौँ — त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाह गरेका गणेश नेपालीको घटनाबारे छानबिन गर्न प्रहरीले बनाएको समितिले २१ जनाको बयान लिएको छ ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलिया नेतृत्वको समितिले प्रत्यक्षदर्शी, नगर प्रहरीका कर्मचारी र अन्यसमेत गरी उनीहरुको बयान लिएको हो ।
समितिका एक सदस्यका अनुसार, परिवारका सदस्यकोचाहिँ बयान लिन बाँकी छ । ‘त्यसबेला शोकमा हुनु भएकाले कुराकानी गर्न सकिएन, केही दिनपछि कुराकानी गर्ने तयारी छ,’ उनले भने, ‘हालसम्म घटना कसरी भएको थियो, कसकसको कमजोरी रह्यो भन्ने विषयमा जाँच गरिरहेका छौं ।’
समितिले घटना भएको समयको सीसीटीभी फुटेजको समेत विश्लेषण गरेको छ । समितिका एक जना सदस्यका अनुसार गणेश २५ असार बिहान करिब ११ बजे यात्रु पुर्याउन राहदानी विभाग पुगेको खुलेको छ । २ नम्बर गेटअगाडि यात्रु ओरालेपछि अर्को ‘राइड रिक्वेस्ट’ पर्खिरहेका बेला एक महिला नगर प्रहरीले त्यहाँ मोटरसाइकल नरोक्न भनेकी थिइन् । त्यस क्रममा दुवैबीच वादविवाद भएको र केहीबेरपछि नगर प्रहरीले मोटरसाइकलमा ‘ह्विल लक’ लगाइएको प्रहरीको निष्कर्ष छ ।
महिला नगर प्रहरीले भनेको नमान्ने भन्दै गणेशसँग प्रश्न गरेको र मोबाइल खसेर फुटेको विषयमा समेत विवाद भएको भिडियो प्रहरीले संकलन गरेको छ । मोटरसाइकलमा चढेका बेला आफूमाथि अन्यायपूर्वक ह्विल लक लगाइएको गुनासो भिडियोमा नेपालीले गरेका छन् ।
नेपाल प्रहरीको घटना दर्ता किताबमा दिउँसो १ बजेर ४५ मिनेटमा ३ नम्बर गेटमा पार्किङ गरिएको मोटरसाइकलमा महानगरको टोलीले ह्विल लक लगाएपछि गणेशले आफ्नै शरीरमा आगो लगाएको उल्लेख छ । प्रहरीको अनुसन्धानअनुसार ह्विल लक लगाइएको करिब दुई घण्टापछि उनले शरीरमा पेट्रोल खन्याएका थिए । ‘त्यो सबै विषयलाई सीसीटीभी फुटेज र बयानका आधारमा सिलसिलेबार रुपमा प्रस्तुत गरेका छौं,’ समितिका ती सदस्यले भने ।
मुगुको सोरु गाउँपालिका–६, जमलधारा स्थायी घर भएका नेपाली भक्तपुरको कमलविनायकमा बस्दै आएका थिए । उनले तीन महिनाअघि मात्र मुगुको जग्गा धरौटीमा राखेर किस्ताबन्दीमा पल्सर मोटरसाइकल निकालेको बालाजु हाइटमा बस्दै आएका दाइ मदनको भनाइ छ । तर, भने जस्तो जागिर नपाएपछि उनी पठाओ चलाएर जिन्दगी चलाइरहेका थिए ।
नेपालीको मृत्युलाई लिएर लामो समयसम्म विवाद भएपछि सरकारले उनको परिवारसँग ९ बुँदे सहमति गरेको थियो । २८ असारमा भएको सहमतिमा सरकारले पूर्वन्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन समिति बनाउने समेत भनिएको छ । सरकारबाट तर्फबाट काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वराज पौडेल र काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेको यो सहमतिपछि परिवारले नेपालीको शव अस्पतालबाट उठाएका थिए । तर, अहिलेसम्म यो समितिचाहिँ गठन भएको छैन ।
सरकारले नै समिति बनाउने भएपछि प्रहरीको समितिका सदस्यहरुचाहिँ अलमलमा छन् । समितिका एक सदस्यले कान्तिपुरसँग भने, ‘पूर्वन्यायाधीशकै नेतृत्वमा समिति बनाउने निर्णय भइसकेपछि हामीले के कति काम गर्ने भन्ने अन्योल छ, यद्यपि पाएको जिम्मेवारी अनुसार काम गरिरहेकै छौं ।’
