पशुपति परिसरमा काजकिरियामा रहेका गणेशका दाइ मदन भन्छन् - हामीसँग भएको सहमति जतिसक्दो सजिलो र चाँडो कार्यान्वयन भइदिए हुन्थ्यो । भाइको न्यायका लागि दोषीलाई कारबाहीको दायरामा ल्याइदिए हुन्थ्यो ।
What you should know
काठमाडौँ — काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारले आफूहरूसँगको ९ बुँदे सहमति राज्यको तर्फबाट अझै पूरा नभएको गुनासो गरेका छन् । गत असार २५ गते आत्मदाह प्रयास गरेका गणेशको एक दिनपछि २६ गते उपचारका क्रममा निधन भएको थियो । गृहमन्त्री सुधन गुरुङसँगको सहमतिपछि मात्रै परिवारले उनको अन्त्येष्टि गरेका थिए ।
९ बुँदे सहमतिमा समिति बनाएर घटनाको छानबिन गर्ने, गणेशकी छोरीलाई उच्च शिक्षाका लागि खर्च बेहोर्ने, श्रीमतीलाई काठमाडौं महानगरपालिकाले रोजगारी दिने, परिवारलाई आर्थिक राहत उपलब्ध गराउने, काजकिरियाको खर्च लगायत विषय छन् ।
पशुपतिमा काजकिरियामा रहेका गणेशका दाइ मदन नेपालीले सरकारले छिटै र सजिलै न्याय दिए हुन्थ्यो भन्ने आफूलाई लागेको बताए । उनले भने, ‘कानुनी लडाइँ लड्ने क्षमता भएको मान्छे हामी होइनौं । काम (काजकिरिया)मा लागेर मैले पनि सम्झौता के भयो भनेर बुझेको छैन ।’
गणेशको गोजीमा भएका कागजातबारे सहमति भएको दिन गृहमन्त्री गुरुङलाई सोध्दा फिर्ता पाउने आश्वासन पाएको उनले बताए । घटना हुँदा गणेश सवार मोटरसाइकल अहिले अनुसन्धानका लागि प्रहरीसँग छ । गणेशको परिवारको राहत लगायतको जिम्मा लिएको काठमाडौं महानगरपालिकाले कार्यपालिका बैठकबाट सम्झौतालाई पारित गराउने बताएको छ ।
‘सहमति भएपछि बैठक बसेको छैन । काठमाडौं महानगरपालिकाले लिएको जिम्मेवारीलाई पहिलो प्राथमिकतामा निर्णय गराउँछौँ’, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले भने, ‘कार्यपालिकाबाट निर्णय केही दिनमै हुन्छ । कार्यवाहक मेयरज्यू यो विषयमा सकारात्मक हुनुहुन्छ ।’ महानगरपालिकाले उपलब्ध गराउने राहत रकमको राशि सहमति पत्रमा उल्लेख छैन । प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले राहत रकम कति दिने कार्यपालिका बैठकबाटै निर्णय हुने बताए ।
परिवारका सातै जना पशुपतिमा गणेशको काजकिरियामा छन् । पशुपतिमा भेटका क्रममा मदनले काजकिरिया भइरहेको ठाउँमा नभएका सामान बाहिरबाट किनिरहेको बताए । ‘बुवाले मुगुबाट आउँदा ५ पर्सेन्टका दरले १ लाख ऋण ल्याउनु भएको थियो । कति जनाले यहीँ आएर पनि सहयोग गरिरहनुभएको छ । खर्च त्यहीबाट चलिरहेको छ’, मदनले भने, ‘सिडिओ साप आएर यहीँको पसललाई सामान दिनू भयो । मदन केही पर्यो भने मलाई फोन गर्नु भन्नुभएको छ ।’
गणेशको परिवारले बुधबार १३ औं दिनको शोक कर्म सक्दैछ । बच्चाबाहेक आफू र श्रीमती बस्दै आएको कोठा सानो हुने भएपछि बुवा आमासहित परिवारलाई कहाँ लैजाने भन्ने चिन्ता मदनलाई छ ।
गणेश उपचाररत हुँदादेखि नै परिवारले आर्थिक सहयोगको आह्वान गर्दै उनको बैंक खाता नम्बर दिएको थियो । खातामा कति पैसा जम्मा भयो परिवारलाई थाहा छैन । ‘बैंकमा के कति पैसा जम्मा भयो ? गणेश नै नरहेपछि हेर्न मिलेन,’ मदनले भने, ‘पशुपति ल्याउँदा २ वटा गाडीको पैसा हामीले दियौं । ३ वटा सिडिओ सापले पठाइदिनुभयो ।’
शोकमा रहेकी आमालाई अहिले नै घर मुगु पठाउन मदनलाई मन छैन । काठमाडौंमै राख्न कोठा पाएका छैनन् । उनी आर्थिक भार थेग्न सक्ने अवस्थामा छैनन् । ‘मेरो ओभरसियर फिल्ड काम पाइएन । लोकसेवा तयारी गर्दै घर ज्यामी गरिरहेको छु,’ उनले भने ‘साथीहरू कोठा खोज्न हिँडेका छन् । एउटै फ्ल्याटको ३०-४० हजार भन्छन् ।’
मदनले गणेशको न्यायका लागि सरकारले जतिसक्दो चाँडो आफूहरूसँग भएका सहमति कार्यान्वयन गरी भाइको न्यायका लागि काम गर्नुपर्ने बताए । उनले भने, ‘हामी अरूजस्तो कानुनको बाटो जाने मान्छे पनि होइनौं । एकदमै नर्मल मान्छे हौं । लोयल परिवारमा हुर्केका । आमाबाबा त के अक्षर लेखको हो भन्ने थाहा पनि पाउनुहुन्नँ । त्यसैले हामीलाई जतिसक्दो सजिलो र जतिसक्दो चाँडो जुन सम्झौता भएको छ । त्यो कुरालाई कार्यान्वयन गर्दिनुभए हुन्थ्यो । सबभन्दा भाइको न्यायका लागि ठोस कदम चालेर दोषीलाई कारबाहीको दायरामा ल्याइदिए हुन्थ्यो भन्ने छ ।’
