श्रममन्त्री यादव भन्छन- वैदेशिक रोजगारीलाई तुरुन्तै रोक्न सकिने अवस्था पनि छैन, न त त्यसो गर्नु उचित हुन्छ । आजको विश्व ग्लोaल भिलेज बनेको छ, जहाँ मानिसहरूको एक देशबाट अर्को देशमा आवतजावत स्वाभाविक प्रक्रिया हो ।
What you should know
काठमाडौं — युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारलाई तत्काल रोक्न नसकिने बताएका छन् ।मंगलबार वैदेशिक रोजगार विभागको अनुगमनका क्रममा सञ्चारमन्त्रीहरूसँगको कुराकानीमा मन्त्री यादवले वैदेशिक रोजगारलाई तत्काल रोक्न नसकिने बताएका हुन् ।
उनले विश्वव्यापीकरणको युगमा वैदेशिक रोजगारीलाई पूर्ण रूपमा रोक्न सम्भव नरहेकाले यसलाई सुरक्षित बनाउनेतर्फ सरकार केन्द्रित भएको स्पष्ट पारे । मन्त्री यादवले श्रमिकहरू शोषणमा नपरुन्, उचित पारिश्रमिक पाउनुका साथै आधारभूत जीवनस्तर र सेवा सुविधाहरू सुनिश्चित होस् भन्ने उद्देश्यले युरोपेली मुलुकहरूसँग श्रम सम्झौताका लागि पहल भइरहेको जानकारी दिए । मन्त्री यादवले वैदेशिक रोजगारलाई तत्काल रोक्नु उचित पनि नहुने बताएका छन् । वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले युरोपेली मुलुकजस्ता सुरक्षित र उच्च प्रतिफल दिने नयाँ गन्तव्यहरूको खोजी गरिरहेको बताए ।
मन्त्री यादवले भने, ‘वैदेशिक रोजगारीलाई तुरुन्तै रोक्न सकिने अवस्था पनि छैन, न त त्यसो गर्नु उचित हुन्छ । आजको विश्व ‘ग्लोaल भिलेज’ बनेको छ, जहाँ मानिसहरूको एक देशबाट अर्को देशमा आवतजावत स्वाभाविक प्रक्रिया हो । त्यसैले हाम्रो प्राथमिकता वैदेशिक रोजगारी रोक्ने होइन, सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने हो । हामी राम्रो श्रम बजारको खोजीमा पनि छौँ, जहाँ नेपाली श्रमिक शोषणमा नपरुन् । उचित तलब, सुरक्षित कार्यस्थल, आवास तथा आधारभुत जीवनस्तरका सुविधा प्राप्त गर्न सकुन् ।युरोपलगायतका नयाँ र सुरक्षित श्रम गन्तव्यका विषयमा पनि काम भइरहेको छ । यस क्षेत्रलाई मर्यादित बनाउन सबै पक्षको साथ र सहयोग आवश्यक छ ।’
मन्त्री यादवले विगतमा कानुन कार्यान्वयनको पक्ष फितलो देखिएका कारण ठगी गर्नेहरूको मनोबल बढेको स्वीकार गर्दै उनले अबका दिनमा सरकार निर्मम रूपमा प्रस्तुत हुने बताए।जनताले चाँडो नतिजा खोजेको महसुस गर्दै मन्त्रालयले परिणाममुखी काम गर्न तीव्र गतिमा प्रयास गरिरहेको उनको दाबी छ । वैदेशिक रोजगार क्षेत्रलाई पारदर्शी र मर्यादित बनाउने कार्यमा सबै क्षेत्रबाट सहयोगको अपेक्षा समेत मन्त्री यादवले गए ।
