समवेदना सन्देशमा राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा रहेको उल्लेख गरेका छन् ।
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा देवेन्द्रराज पाण्डेको निधनमा दुःख व्यक्त गर्दै समवेदना सन्देश पठाएका छन् ।
समवेदना सन्देशमा राष्ट्रपति पौडेलले पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा रहेको उल्लेख गरेका छन् । उनले नेपालमा लोकतन्त्र स्थापना र पुन:स्थापना तथा विभिन्न संघर्ष र आन्दोलनहरूमा नागरिक अगुवाका रूपमा उनले निर्वाह गरेको नेतृत्वदायी भूमिका सदा स्मरणीय रहिरहने बताएका छन् ।
राष्ट्रपति पौडेलले २०३६ सालको जनमत संग्रहभन्दा केही महिनाअघि सरकारको सचिव पदबाट राजीनामा दिएर पाण्डेले नेपालको लोकतान्त्रिक आन्दोलनका नागरिक अगुवाका रूपमा २०४६ सालदेखि २०६२/६३ सालको आन्दोलनमा दिएको नेतृत्वदायी भूमिका आफ्नो मानसपटलमा अझै ताजा रहिरहेको उल्लेख गरेका छन् ।
समवेदना सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन्, ‘२०३६ साल यताको करिब साढे ४ दशक अवधिमा उहाँको जुन भूमिका र योगदान रह्यो, त्यसले आफ्नो क्षेत्र र धारबाट राष्ट्र निर्माणमा योगदानकर्ता मानक व्यक्तित्वका रूपमा भावी पुस्ताले स्मरण गरिरहनेछन् भन्ने मलाई लागेको छ । उहाँको निष्ठा, आचरण र नैतिक जीवनले नेपाली समाजलाई सबै आलोकित गरिरहने मैले विश्वास लिएको छु ।’
राष्ट्रपति पौडेलले पाण्डेको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुग्नुका साथै मुलुकले निर्भिक र सत्यको पक्षपाती निष्ठावान् लोकतन्त्रवादी नागरिक अगुवा गुमाएको बताएका छन् ।
राष्ट्रपति पौडेलको समवेदना सन्देश उनका प्रेस सल्लाहकार किरण पोखरेल तथा प्रमुख स्वकीय सचिव अवज्ञा पौडेलले पाण्डेको निवास विशालनगर पुगेर हस्तान्तरण गरेका थिए । क्यान्सरबाट पीडित पाण्डेको साउन १ गते शुक्रबार आफ्नै निवास विशालनगरमा निधन भएको थियो ।
