असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की र आयुक्तहरुमा गुरुप्रसाद वाग्ले र राजीव सुब्बाको नाम सुनुवाइका लागि प्रस्ताव गरेको थियो ।
काठमाडौँ — प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध एउटा उजुरी परेको छ । मंगलबार बसेको संसदीय सुनुवाइ समिति (संयुक्त) ले कार्कीविरुद्ध परेको उजुरी खोलेको हो ।
प्रस्तावित निर्वाचन आयुक्तद्वय गुरुप्रसाद वाग्ले र राजीव सुब्बाविरुद्ध भने कुनै उजुरी नपरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार संवैधानिक व्यवस्थाअनुसार सार्वजनिक सूचना जारी गरी १० दिनभित्र उजुरी मागिएकामा कार्कीविरुद्ध एउटा मात्र उजुरी प्राप्त भएको हो ।
समितिलाई सुनुवाइ प्रक्रियासम्बन्धी एउटा सुझाव पनि प्राप्त भएको छ । समितिले संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८३ को दफा १६ बमोजिम कार्कीविरुद्ध प्राप्त उजुरी खोल्ने प्रस्ताव अनुमोदन गर्दै उजुरी सदस्यहरूलाई वितरण गरेको छ ।
सभापति श्रेष्ठका अनुसार पाल्पाको तानसेन–९ निवासी भेषराज भुइँटेलले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन नगर्न, सिफारिस अस्वीकृत गर्न तथा विस्तृत छानबिन गर्न माग गर्दै उजुरी दर्ता गराएका हुन् । उजुरीकर्ताले आफ्नो परिचय गोप्य नराख्न आग्रह नगरेको सभापति श्रेष्ठले जानकारी दिए । त्यसैगरी, ललितपुरका उज्वलकृष्ण श्रेष्ठले सुनुवाइ प्रक्रियामा बहुमत–अल्पमतको सट्टा गोलाप्रथाबाट निर्णय गर्न सुझाव दिएका छन् ।
समितिले प्राप्त उजुरीमाथि छलफल, आवश्यक परे उजुरीकर्तालाई उपस्थित गराउने, प्रस्तावित व्यक्तिहरूसँग छलफल गर्ने तथा प्रस्तावित व्यक्तिको सुनुवाइका लागि साउन १२ र १३ गतेको समय निर्धारण गरेको छ ।
असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले आयोगको प्रमुख आयुक्तमा कार्की र आयुक्तहरुमा वाग्ले र सुब्बाको नाम सुनुवाइका लागि प्रस्ताव गरेको थियो ।
