जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनलाई पक्राउ गरेको हो ।
मकवानपुर — जेन-जी आन्दोलनका बेला डिल्लीबजार कारागारबाट फरार भएका कान्तिपुर सहकारीका सञ्चालक सीबी लामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले उनलाई पक्राउ गरेको हो ।
मकवानपुर प्रहरीका डीएसपी माधव काफ्लेले उनी लुकेर बसिरहेको सूचना पाएपछि खटिएको टोलीले पक्राउ गरेको कान्तिपुरसँग पुष्टि गरे । उनले भने, ‘पक्राउ गरेर हामीले भीमफेदी कारागार बुझाइदिएका छौं ।’ काठमाडौं लैजाने वा कहाँ राख्ने भन्ने विषयमा कारागार व्यवस्थापन विभागबाट नै निर्णय हुने उनले बताए ।
काठमाडौंको पुरानो र धेरै बचतकर्ता भएकामध्ये कान्तिपुर क्रेडिट एन्ड कोअपरेटिभले शाखा तथा सेवा केन्द्र गरी १८ ठाउँमा सेवा विस्तार गरेको थियो ।
लामालाई १८ जेठ २०८१ मा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चितवनबाट पक्राउ गरेको थियो । काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएका लामाविरुद्ध २० फागुन २०८० मा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो ।
सहकारीको रकम घोटाला गरेर व्यक्तिगत घरजमिन, निजी कम्पनी र रिसोर्टमा लगानी गरेको आरोप उनीमाथि छ ।
