प्रधानमन्‍त्रीले भारत र चीनका राजदूतसँग एक्ला-एक्लै भेट गर्ने

गत महिना नेपालको तीनदिने भ्रमणका क्रममा शाहले एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डा वान टु वान भेटघाट गरेका थिए

श्रावण ४, २०८३

अनिल गिरी

Prime Minister to meet individually with Indian and Chinese ambassadors

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले यसै साता भारतीय र चिनियाँ राजदूतहरूसँग एक्ला-एक्लै भेटवार्ता गर्ने भएका छन् ।उक्त भेटघाटको समन्वय परराष्ट्र मन्त्रालयले गर्दैछ ।

नेपालका लागि भारत र चीन दुबै उत्तिकै महत्त्वपूर्ण छन् भन्ने सन्देश दिन प्रधानमन्त्री शाहले भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत झाङ माओमिङलाई एकै दिन भेट्ने तय भएको छ ।

प्रधानमन्त्रीका एक सहयोगीले भने, 'प्रधानमन्त्रीज्यूले पछिल्लो दुई सातायता विभिन्न सरोकारवालाहरूसँग भेटघाट सुरु गर्नुभएको छ। अब हामीले विदेशी राजदूत र कूटनीतिज्ञहरूसँग पनि संवाद गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छौँ।' उनले थपे, 'नेपालको परराष्ट्र नीतिको प्राथमिकतालाई ध्यानमा राख्दै हाम्रा दुई छिमेकी भारत र चीनका राजदूतहरूबाट यो भेटघाटको सुरुआत गर्नु स्वाभाविक हो।'

यसअघि प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेपछि  विदेशी राजदूतावासका अधिकारीहरूसँग एक्ला-एक्लै भेट गर्न अस्वीकार गर्दै आएका थिए ।

बरु, उनले गत वैशाख २६ र जेठ १२ मा काठमाडौँस्थित राजदूतहरूसँग संयुक्त बैठक गरे । जसलाई नेपाली कूटनीतिज्ञ र परराष्ट्र मामिलाका विज्ञहरूले पारदर्शी अभ्यास भन्दै प्रशंसा गरेका थिए।

यसमा एउटै अपवादका रुपमा एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डा रहे । गत महिना नेपालको तीनदिने भ्रमणका क्रममा शाहले कान्डासँग एक्ला-एक्लै भेटघाट गरेका थिए । 

यसैबीच, घरेलु सरोकारवालाहरूसँग पनि भेटघाटबाट टाढै बच्ने आफ्नो पूर्ववत् शैलीमा परिवर्तन गर्दै प्रधानमन्त्री शाहले हालैका हप्ताहरूमा उद्योगी, व्यापारी, निर्माण व्यवसायीलगायतका व्यापारिक समुदायसँग नियमित रूपमा भेटघाट गर्न थालेका छन्।

प्रधानमन्‍त्री शाहले यसअघि नेपाल भ्रमणमा आएका उच्च अमेरिकी कूटनीतिज्ञहरूसँग पनि भेट्न अस्वीकार गरेका थिए ।काठमाडौँस्थित अमेरिकी दूतावासले दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुर र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपतिका विशेष दूत सर्जियो गोरसँग भेटका लागि गरेको अनुरोध पनि उनले अस्वीकार गरेका थिए ।

त्यसैगरी, सार्वजनिक कूटनीति मामिलाकी अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले पनि आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्रीसँग भेट्ने अवसर पाएकी थिइनन् । विगतमा, नवनिर्वाचित प्रधानमन्त्रीहरूले पदभार ग्रहण गरेको केही दिनभित्रै प्रधानमन्त्री कार्यालय वा उनीहरूको सरकारी निवासमा विदेशी राजदूतहरूसँग व्यक्तिगत रूपमा भेटघाट गर्ने चलन थियो।

अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully