भूमिहीन सुकुमबासीलाई निवेदन दिन अन्तिम पटक ३५ दिने म्याद थप

समितिले सार्वजनिक सूचना प्रकाशित गर्दै तोकिएका स्थानीय तहका लक्षित वर्गलाई समितिले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भर्न आह्वान गरेको हो ।

श्रावण ४, २०८३

कान्तिपुर संवाददाता

Deadline for landless squatters to apply extended by 35 days

What you should know

काठमाडौँ — भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका लागि जग्गा उपलब्ध गराउने तथा व्यवस्थापन गर्ने प्रयोजनका लागि आवेदन दिन अन्तिम पटक ३५ दिने सूचना जारी गरेको छ । 

समितिले सार्वजनिक सूचना प्रकाशित गर्दै तोकिएका स्थानीय तहका लक्षित वर्गलाई समितिले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भर्न आह्वान गरेको हो । सूचना प्रकाशित भएको मिति २०८३ साउन ४ गतेदेखि लागू हुने गरी ३५ दिनभित्र आ-आफ्नो स्थानीय तहका वडा कार्यालयहरूमा तोकिएका स्थानमा खटिएका लगत संकलकहरूमार्फत् निवेदन पेस गर्नुपर्नेछ ।

समितिका अनुसार लगत संकलनको दोस्रो पटकको सूचना प्रकाशन भइसकेका स्थानीय तहहरूको हकमा यो सूचनालाई नै अन्तिम पटकको अवसर मानिनेछ। यसपटक कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्ला र स्थानीय तहहरूका लागि यो सूचना जारी गरिएको हो । 

कोशी प्रदेशको उदयपुर जिल्लाका ताप्ली र लिम्चुङबुङ गाउँपालिका, सुनसरीको गढी गाउँपालिका तथा खोटाङका बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकाका बासिन्दाले आवेदन दिन सक्नेछन् । यसैगरी मधेस प्रदेशतर्फ सिराहा जिल्लाका भगवानपुर, लक्ष्मीपुर पतारी, बरिआरपट्टी, सखुवानन्कारकट्टी गाउँपालिका र सुखीपुर नगरपालिकामा यो कार्यक्रम सञ्चालन हुनेछ। सर्लाही जिल्लाका रामनगर, कौडेना, बलरा, विष्णु र धनकौल गाउँपालिका तथा मलंगवा र गोडैटा नगरपालिकाका लक्षित वर्गले पनि यसै अवधिभित्र निवेदन दिइसक्नुपर्नेछ। 

बारा जिल्लाका सिम्रौनगढ र कलैया उपमहानगरपालिकाका साथै परवानीपुर, देवताल, विश्रामपुर र करैयामाई गाउँपालिकामा यो व्यवस्था लागू गरिएको छ। बागमती प्रदेशतर्फ रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकालाई यस सूचनामा समेटिएको छ ।

गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाका बारपाक सुलिकोट र शहिद लखन गाउँपालिका, पर्वतको पैयूँ र विहादी गाउँपालिका तथा फलेवास नगरपालिका, मनाङको नासोँ, नार्पा भूमी, चामे र मनाङ ङिस्याङ गाउँपालिकाका नागरिकले आवेदन दिन सक्नेछन्। 

साथै, बागलुङको निसीखोला गाउँपालिका, म्याग्दीका मंगला, रघुगंगा, मालिका, अन्नपूर्ण, धवलागिरी गाउँपालिका र बेनी नगरपालिका, मुस्ताङका लो-घेकर दामोदरकुण्ड, लोमन्थाङ, थासाङ, वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिका यसमा समावेश छन्। स्याङ्जा जिल्लाका पुतलीबजार, भीरकोट र वालिङ नगरपालिका तथा अर्जुनचौपारी, बिरुवा, हरिनास, कालीगण्डकी र आँधिखोला गाउँपालिकाका लक्षित वर्गले पनि निवेदन दिनुपर्नेछ ।

लुम्बिनी प्रदेशको बाँके जिल्लास्थित डुडुवा गाउँपालिका र कर्णाली प्रदेशतर्फ जाजरकोट जिल्लाका बारेकोट, शिवालय र जुनीचाँदे गाउँपालिकाका बासिन्दालाई यो अवसर दिइएको छ। कर्णालीकै डोल्पा जिल्लाका त्रिपुरासुन्दरी नगरपालिका सहित छार्का ताङसोङ, शे-फोक्सुण्डो, डोल्पो बुद्ध, काइके, मुड्केचुला र जगदुल्ला गाउँपालिकामा यो कार्यक्रम सञ्चालन हुने समितिले जनाएको छ।

तोकिएको म्यादभित्र आवश्यक प्रक्रिया पूरा गरी विवरण बुझाउन समितिले सबै सरोकारवालाहरूमा आग्रह गरेको छ ।

कान्तिपुर

Link copied successfully