चालु आर्थिक वर्षमा विशिष्ट श्रेणी सचिव वा सोसरहका २० जनासहित करिब २ हजार कर्मचारीले अनिवार्य अवकाश पाउने छन् ।
What you should know
काठमाडौँ — गएको आर्थिक वर्षमा निजामती सेवातर्फ करिब ३ हजार पद रिक्त भएका छन् । राष्ट्रिय निजामती किताबखानाको तथ्यांकअनुसार अनिवार्य अवकाश र कर्मचारीले राजीनामा दिँदा उक्त पद रिक्त भएका हुन् ।
गत आवमा २ हजार २ सय ११ जना कर्मचारीले अनिवार्य अवकाश पाएका छन् भने ७ सय १८ जनाले राजीनामा दिएका छन् । राजीनामा दिने कर्मचारीको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा बढी देखिएको छ । आव ०१/२ मा राजीनामा दिनेको संख्या ६ सय ११ थियो । आव ०२/०३ को एक वर्षमा राजीनामा दिएका कुल कर्मचारीको करिब एकतिहाइले असारमा राजीनामा दिएका छन् । गएको असारमा विभिन्न दर्जाका २ सय २५ जना कर्मचारीले राजीनामा दिएका छन् । उक्त महिना २ सय २२ जना कर्मचारीले अनिवार्य अवकाश पाएका छन् ।
किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेल पछिल्लो महिना कर्मचारीले राजीनामा दिने क्रम बढेको बताउँछन् । प्रस्तावित निजामती सेवा विधेयकमा ५५ वर्ष उमेर पूरा भएको वा नोकरी अवधि ३० वर्ष पूरा गरेकालाई अवकाशमा पठाउने प्रावधानको प्रसंग चर्चामा आएपछि राजीनामाको क्रम बढेको विश्लेषण गरिएको छ । नोकरी अवधि जति वर्ष भए पनि पेन्सनपट्टाका लागि ३० वर्षको अवधि मात्रै गनिने विधेयकमा प्रस्ताव छ ।
‘राजीनामा स्वैच्छिक विषय भयो, विभिन्न कारण देखाएर कर्मचारीहरूले राजीनामा गरेका हुन्,’ पोखरेलले भने, ‘निजामती सेवा विधेयकका प्रसंग मिडियामा चर्चामा आएपछि त्यसले पनि राजीनामा गर्न कर्मचारीलाई प्रेरित गरेको हुन सक्छ ।’ राजीनामा दिनेमा ८ सहसचिव, ४७ उपसचिव, ५७ शाखा अधिकृत र सहायकस्तरका कर्मचारी ४७ जना छन् । बाँकी श्रेणीविहीन पदमा कार्यरतहरूले राजीनामा दिएको किताबखानाले जनाएको छ ।
त्यसैगरी, चालु आर्थिक वर्ष (०३/४) मा निजामती सेवातर्फका १ हजार ९ सय ८५ जना कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन् । राष्ट्रिय निजामती किताबखानाले उपलब्ध गराएको तथ्यांकअनुसार अवकाश पाउनेमा विशिष्ट श्रेणी सचिव वा सोसरहका २० जना, सहसचिव वा सो सरहका ८७, उपसचिव वा सो सरहका २ सय ६ जनाले अवकाश पाउनेछन् ।
त्यस्तै, शाखा अधिकृत तहका ३ सय २०, सहायकस्तरका ७ सय ७३ र श्रेणीविहीनतर्फ ५ सय ७९ जनाले अनिवार्य अवकाश पाउनेछन् । ५८ वर्षे उमेर हद तथा पदावधि पूरा भई ती कर्मचारीले अवकाश पाउने किताबखानाका महानिर्देशक पोखरेलले बताए । सचिवहरू क्रमशः किरणराज शर्मा, लोकनाथ पौड्याल, हरिप्रसाद मैनालीले साउनमा अवकाश पाउँदै छन् । सचिवहरू डिल्लीराम शर्मा, बाबुराम अधिकारी र राजुकुमार श्रेष्ठले भदौमा, गोपालप्रसाद, सिग्देल, सुरजकुमार वैद्य र रविलाल पन्थले असोजमा अवकाश पाउनेछन् । कृष्णबहादुर राउतले पुसमा, रामेश्वर दंगालले माघमा, मुकुन्दप्रसाद निरौलाले फागुनमा र दीनानाथ मिश्रले चैतमा अवकाश पाउनेछन् ।
त्यसैगरी सचिवहरू कृष्णप्रसाद काप्रीले जेठमा तथा केदारनाथ शर्मा, राजेन्द्रकुमार पौडेल र इन्दिरा दाहालले असारमा अवकाश पाउने किताबखानाको रेकर्डले देखाएको छ । विशिष्ट श्रेणीकै नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपमहालेखापरीक्षक बैकुण्ठबहादुर अधिकारीले असोजमा तथा अर्का नायब महान्यायाधिवक्ता लोकराज पराजुलीले आगामी जेठमा अनिवार्य अवकाश पाउनेछन् । उक्त संख्या १ साउनबाट आगामी ३१ असारसम्म अवकाशमा जाने कर्मचारीहरूको रहेको उनले उल्लेख गरे । किताबखानाको रेकर्डअनुसार संघ, प्रदेश तथा स्थानीय तहमा गरी कुल ९२ हजार ५ सय २० कर्मचारी कार्यरत छन् ।
