जोखिममा दुर्गमका किशोरी आमा, हवाई उद्धार गरेका १९ प्रतिशत गर्भवती २० वर्षमुनिका

निःशुल्क हवाई उद्धार कार्यक्रम अन्तरगत सातै प्रदेशबाट हालसम्म हेलिकोप्टरबाट उद्धार गरिएका करिब ९ सय ५० सुत्केरी तथा गर्भवतीमध्ये १९ प्रतिशत किशोरी छन् ।

श्रावण ३, २०८३

ज्योति कटुवाल

Teenage mothers in remote areas at risk, 19 percent of pregnant women rescued by air are under 20 years old

What you should know

सुर्खेत — रुकुम पश्चिम मुसिकोट नगरपालिका–१४ की १९ वर्षीया सुशीला रोकाका लागि जेठ २१ को बिहान अहिलेसम्मकै कठिन दिन बन्यो । पहिलो सन्तानको प्रतिक्षामा रहेको परिवारमा खुसीको माहोल थियो, तर सुत्केरी बेथा बढ्दै जाँदा परिवारमा डरमा बद्लियो । कम उमेरमै गर्भवती बनेकी सुशीलाको अवस्था निकै जटिल बन्दै गयो । 

सुशीलालाई हतारहतार जिल्ला अस्पताल पुर्‍याए पनि चिकित्सकको भनाईले परिवारलाई झनै स्तब्ध बनायो । ‘अब शिशुको आश मार्नुस्, समयमै ल्याउनु भएन, हामी बचाउन सक्दैनौं,’ चिकित्सकले भनेको सम्झँदै सुशीलाकी भाउजू नन्दकला रोका भन्छिन्, ‘त्यो खबर सुनेपछि घरपरिवारमा सन्नाटा छायो ।’ सुशीलाको गर्भमा जुम्ल्याहा शिशु थिए । बचाउन सकिन्छ की भनेर अस्पताल पुर्‍याएका थियौं चिकित्सकले नै त्यसो भने पनि त्रास फैलियो । तर, पनि लामो प्रयासपछि एउटा शिशुको सामान्य प्रसूति भयो तर, दोस्रो शिशुलाई शल्यक्रिया गरेर निकाल्नु पर्‍यो ।  

भाउजू नन्दकलाका अनुसार शिशु जन्मिएपछि पनि जोखिम टरेन । सुशीलालाई अत्यधिक रक्तस्राव भयो । चिकित्सकले प्रदेश अस्पताल सुर्खेत लैजान सुझाव दिए । चिकित्सकको सल्लाह अनुसार जिल्ला प्रशासन कार्यालयले उद्धार पत्र पठाएपछि सेनाको हेलिकोप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल लगेपछि रोका परिवारमा आशाको झिल्को पलायो । 

बाजुराको जगनाथ गाउँपालिका–२ की १५ वर्षीया करुणा विष्टले गत मंसिर २१ मा बेहोस अवस्थामा शिशु जन्म दिइन् । किशोरावस्थामै गर्भवती बनेकी उनलाई अचानक सुत्केरी बेथाले च्यापेपछि शिशु नजन्माउँदै बेहोस बनिन् । जिल्ला अस्पताल पुर्‍याउँदासम्म उनको अवस्था जटिल बनिसकेको थियो ।

अत्यधिक रक्तस्राव र प्रसूति जटिलताका कारण उनलाई अस्पतालमा उपचार गर्न नसक्ने भन्दै चिकित्सकले जिल्ला बाहिर रिफर गरे । ‘उमेर कम भएकाले होला, बच्चा जन्माउँदा बुहारी बेहोस भइन्,’ सासु अमृता विष्टले भनिन्, ‘बेहोस अवस्थामै नातिको जन्म भयो ।’ नाति जन्मिए पनि करुणालाई दुई दिनसम्म होश आएन । उनलाई पनि हेलिकोप्टरबाट उद्धार गरी प्रदेश अस्पताल पुर्‍याइयो ।    

यस्तै, संखुवासभाको मकालु गाउँपालिका–२ की १५ वर्षीया निलिमा शेर्पा पनि १५ वर्षकै उमेरमा गर्भवती भइन् । गत चैत ८ मा अत्याधिक रक्तस्राव भएपछि उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल ल्याइएको थियो । कम उमेरमै गर्भवती बनेका कारण आफूलाई प्रसूति प्रक्रिया, सम्भावित जोखिम र त्यसका लागि आवश्यक तयारीबारे कुनै जानकारी नभएको निलिमा बताउँछिन् । ‘शिशुलाई कसरी जन्मदिने भन्नेभन्दा पनि आफू बाँचिदैन भन्ने डरले सताइरहन्थो,’ उनले भनिन्, ‘पहिलो पटक आमा बन्दै गर्दाको त्यो अनुभव मेरो अहिलेसम्मकै कहालीलाग्दो क्षण बन्यो ।’ समयमै आफन्त, स्थानीय प्रशासन र सम्बन्धित निकायको समन्वयमा हेलिकोप्टरबाट उद्धार भएपछि आफुले नयाँ जीवन पाएको उनले बताइन् ।  

‘हेलिकोप्टर आएर यसरी उद्धार हुन्छ र तीनै जनाको ज्यान जोगिन्छ भनेर कल्पना पनि गरेको थिइनँ,’ मुसिकोटकी नन्दकला भन्छिन्,‘आमा र शिशु ज्यान बचाउन सही समयमै उद्धार भयो ।’ कम उमेरमा जुम्ल्याहा सन्तान जन्मिएकाले दुवै शिशुको तौल निकै कम छ । उनीहरुलाई अझै एक महिना अस्पतालमा राख्नुपर्ने चिकित्सकहरुको भनाई छ । सुशीलाको स्वास्थ्य अझै कमजोर भएकाले शिशुलाई आमाको दूध सिधैं खुवाउन सकिएको छैन, दूध निकालेर सुईमार्फत खुवाउनु पर्ने अवस्था रहेको नन्दकलाले बताइन् ।

नन्दकलाजस्तै बाजुराकी अमृताको पनि अनुभव उस्तै छ । ‘अस्पताल पुर्‍याएको दुई दिनपछिमात्र बुहारीको होश आयो,’ अमृता भन्छिन् । निःशुल्क उद्धारको सुविधा भएकाले मात्रै समयमा अस्पताल पुगेर बुहारीको ज्यान जोगिएको उनले सुनाइन् । अमृता भन्छिन्, ‘छोरा र बुहारीको उमेर कम भएकाले सरकारले दिने सुविधा केही उपभोग गर्न मिलेन ।’ 

डोल्पा जिल्ला अस्पतालका डाक्टर सिजन रावलले सुत्केरीको सफल शल्यक्रिया भए पनि शिशुलाई बचाउनकै लागि पनि सुविधासम्पन्न अस्पताल रिफर गर्नुपर्ने अवस्था रहेको बताए । ‘हामी कहाँ बाल विशेषज्ञ डाक्टर, अत्यावश्यक उपकरण र अन्य म्यानपावर छैन,’ उनले भने, ‘बचाउनकै लागि पनि रिफर गर्नु बाध्यता छ ।’ 

संखुवासभाकी निलिमा पनि हवाई उद्धारकै कारण आफ्नो ज्यान जोगिएको बताउँछिन् । ‘सबैको सहयोगले समयमै उपचार पाएँ, त्यसैले म र मेरो बच्चा दुवै सुरक्षित हुन सक्यौं,’ उनले भनिन् । कम उमेरमै आमा बन्नुको शारीरिक मात्र होइन, मानसिक असर पनि गहिरो हुने अनुभव उनले सुनाइन् । ‘अहिले स्वास्थ्य अवस्था सामान्य छ तर, अलिकति पनि रगत देखियो भने फेरि केही हुन्छ कि भन्ने डर लागिरहन्छ । शरीर निको भए पनि मन अझै पूर्ण रुपमा ढुक्क हुन सकेको छैन,’ उनले भनिन् । 

पहाडी क्षेत्रका दुर्गम बस्तीबाट स्थानीय स्वास्थ्य संस्था पुग्न सहज नहुँदा घरमै सुत्केरी गराउनुपर्ने बाध्यता पनि रहेको स्थानीय बताउँछन् । अप्ठ्यारो भूगोल र घण्टौं समय लाग्ने हुँदा जोखिम पनि उस्तै रहने चिकित्सक बताउँछन् ।

नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ देखि १९ जिल्लाभरी र थप २५ जिल्लाका केही पालिकामा लागु रहेको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ले यातायातको पहुँच नपुगेका स्थानका गर्भवती तथा सुत्केरी अवस्थामा जटिलता देखिएकालाई आकस्मिक उद्धार गरी समयमै अस्पतालमा पुर्‍याउन प्रभावकारी भएको छ।

प्रसूति अवस्था जटिलता भएका, अत्याधिक रक्तस्राव भएका वा स्वाथ्य संस्थामा पुर्‍याउन ढिलाई हुँदा ज्यान जोखिममा पर्ने अवस्थामा तत्काल उद्धार गरिँदै आएको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय स्वास्थ्य संस्थाको सिफारिसका आधारमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र समाजिक सुरक्षा मन्त्रालयले सेनालाई उद्धार गर्न खटाउने गरेको छ । यसरी काठमाडौंको मध्य एयर बेस र सुर्खेतको पश्चिम एयर बेसबाट सातै प्रदेशका तोकिएका स्थानीय तहबाट सुत्केरी महिलाको उद्धार भएको छ ।

सैनिक प्रवक्ता तथा सहायक  रथी राजाराम बस्नेतले स्थानीय तह, जिल्ला अस्पताल र जिल्ला प्रशासनको सिफारिसमा हुने आकस्मिक सुत्केरी उद्धार कार्यक्रम महिला र शिशुको लागि जीवनदान बनेको बताए । उनका अनुसार निःशुल्क हवाई उद्धार सेवा ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ सोलुखुम्बु, ओखलढुंगा, मनाङ मुस्ताङ रुकुमपूर्व, रुकुम, पश्चिम, जाजरकोट, डोल्पा, कालीकोट, मुगु, हुम्ला, बझाङ, बाजुरा, अछाम र दार्चुला गरी १९ का सबै स्थानीय तहमा यो कार्यक्रम लागू छ । अन्य २५ जिल्लाका दुर्गम क्षेत्रमा मात्रै आंशिक लागू गरी ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी तोकिएको पायक पर्ने अस्पतालमा पुर्‍याउने गरिएको छ । 

यो कार्यक्रम अन्तरगत सात वटै प्रदेशबाट हालसम्म करिब ९ सय  ५० सुत्केरी तथा गर्भवतीको हेलिकोप्टरबाट उद्धार भएको छ । यसरी उद्धार गरिएकामध्ये १९ प्रतिशत किशोरी आमा रहेको नेपाली सेनाले उपलब्ध गराएको तथ्यांकमा छ । 

कर्णाली प्रदेश अस्पतालमा कार्यरत प्रसूति तथा स्त्रीरोग विशषज्ञ डा. ललितजंग शाही कम उमेरमा गर्भवती भएकाहरुको विभिन्न कारण शल्यक्रिया गर्नैपर्ने बाध्यता हुने बताउँछन् । ‘कम उमेरका गर्भवतीमा उच्च रक्तचापको जोखिम हुन्छ । त्यसकारण पनि बिना शल्यक्रिया सुत्केरी गराउनै सकिँदैन्,’ उनी भन्छन्, ‘हवाई उद्धार गरेर आएका कम उमेरका किशोरीमा सुत्केरी बेथा सुरु हुनसाथ रगत धेरै बग्ने, शिशुको तौल निकै कम, ऊच्च रक्तस्राव र रत्तअल्पता जस्ता समस्या हुन्छन् ।’ 

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको महिला सशक्तिकरण महाशाखा प्रमुख अञ्जु ढुङ्गानाले किशोरावस्थामै आमा बन्न नदिन तीनै तहका सरकारले बालविवाह  न्यूनीकरणमा जोड दिन आवश्यक रहेको बताइन् । 

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully