कम उमेरमै विवाह, पोषणको अभाव र अन्धविश्वासका कारण अछाममा मृत शिशु जन्माउनेको संख्या अपेक्षित रूपमा घट्न सकेकाे छैन । ६ वर्षयता जिल्लामा ३ सय ६२ शिशु मृत जन्मिएका छन् ।
What you should know
अछाम — अछाममा मृत शिशु जन्मने संख्या घट्दो क्रममा भए पनि सन्तोषजनक नतिजा आउन सकेको छैन । स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८२/८३ को यो अवधिसम्म जिल्लाभर ३ सय ६२ शिशु मृत जन्मिएका छन् ।
उमेर नपुग्दै विवाह, कुपोषण, अन्धविश्वासजस्ता कारणले यो अवस्थामा अपेक्षित सुधार हुन नसकेको स्वास्थ्यकर्मीहरू बताउँछन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा २०७७/७८ देखि आर्थिक वर्ष २०८२/८३ सम्म ६ वर्षको अवधिमा २० वर्षमुनिका ३ हजार ५ किशोरी गर्भवती भएका थिए । शारीरिक र मानसिक रूपमा परिपक्व नहुँदै गर्भधारणसँगै कडा श्रम एवं पोषणको कमीले पेटमा रहेको शिशु जोखिममा पर्नुको मुख्य कारण रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
६ वर्षको यो अवधिमा अछाममा कुल ३ सय ६२ जना शिशु मृत जन्मिएका छन् । मृत शिशु जन्मने यो संख्या पछिल्ला पर्षमा केही घट्दो क्रममा देखिए पनि सन्तोषजनक रूपमा कम हुन भने सकेको छैन । २०७७/७८ मा जिल्लामा १ सय ९ शिशु मृत जन्मिएका थिए । यो संख्या २०७८/७९ मा ८६, २०७९/८० मा ५९, २०८०/८१ मा ३६, २०८१/८२ मा ३९ र २०८२/८३ मा ३३ पुगेको छ । ६ वर्षको यो कुल संख्यामध्ये १ सय ७३ शिशु प्रसूति व्यथा लाग्दा वा जन्मने बेला मृत्यु भएको हो भने १ सय ८९ शिशु जन्मिनुअघि (गर्भमै) मृत भएको तथ्यांक छ ।
विकट भूगोल भएको तुर्माखाँद गाउँपालिका-४ की ६ मा कक्षा पढ्दै गरेकी १४ वर्षीया किशोरीले ७ कक्षा पढ्ने १६ वर्षीय वर्षीय किशोरसँग विवाह गरिन् । दुई वर्षपछि उनी गर्भवती भइन् । कलिलो उमेरमै पढाइ छोडेर विवाह गरेका उनीहरू शारीरिक, मानसिक र सामाजिक रूपमा परिपक्व भइसकेका थिएनन् । गर्भवती भएपछि ती किशोरीमाथि घरभित्र र बाहिरको कामको थप भार पर्न थाल्यो । कम उमेरमै गर्भवती भएकी उनले गर्भावस्थामा पाउनुपर्ने पोषणयुक्त खानेकुराको कमीलगायत धेरै अभाव झेल्नुपर्यो । जसको असर उनको गर्भमा हुर्किरहेको शिशुमा पनि पर्यो । उनको प्रसूति हुने मिति एक हप्ता नाघ्दासमेत बेथा नलागेपछि उनलाई तुर्माखाँद स्वास्थ्य चौकीले तत्काल जिल्ला अस्पताल मंगलसेन पठायो । ती किशोरी श्रीमान्का साथ जिल्ला अस्पताल पुगिन् । अस्पतालमा चिकित्सकले समय नाघिसकेकाले तत्काल शल्यक्रिया (अप्रेसन) गर्नुपर्ने सुझाव दिए ।
जिल्ला अस्पताल अछामकी सूचना अधिकारी एवं वरिष्ठ नर्सिङ निरीक्षक बुढामगर अनुसार त्यतिबेलासम्म गर्भमा रहेको बच्चाको अवस्था ठिक थियो । अस्पतालको सुझावपछि ती दम्पतीले ‘घरमा सल्लाह गरेर मात्रै शल्यक्रिया गर्ने’ जवाफ दिएर जानकारी बिनै सुटुक्क घर फर्किए । ‘अप्रेसन गरेपछि शरीर बिग्रिएर काम नलाग्ने हुन्छ । नर्मल डेलिभरी नै गराउनुपर्छ भनेर सासू–ससुराले कराउन थाल्नुभयो । घरको त्यो दबाब हामीले थेग्नै सकेनौं र अस्पतालबाट भाग्यौं,’ ती किशोरीले सुनाइन्, ‘घर पुगेपछि बेथा किन लागेन भनेर धामी–झाक्रीकहाँ लगेर गयौं । देवीदेवताको दोष हो कि भनेर भाकल समेत गर्यौं ।’
यता जिल्ला अस्पतालले भने त्यो जोखिमपूर्ण अवस्थाकी ती गर्भवती किशोरीलाई लगातार खोजिरहेको थियो । अस्पतालबाट फर्केको एक हप्तापछि जब उनीहरू पुन: अस्पताल आइपुगे, तबसम्म धेरै ढिलो भइसकेको थियो । समयमै उपचार नपाउँदा किशोरीको गर्भमै बच्चाको मृत्यु भइसकेको नर्सिङ अधिकृत बुढामगरले बताइन् । उनले मृत शिशुलाई जन्म दिनुपरेको
एक वर्षअघि ढकारी गाउँपालिका-५ की ३८ वर्षीया नन्दा (नाम परिवर्तन) छैटौं सन्तानलाई जन्म दिने क्रममा जिल्ला अस्पताल आइपुगिन् । यसअघि उनका लगातार ५ छोरी जन्मिएका थिए । छोरा नभई नहुने सामाजिक दबाबका कारण उनी ३८ वर्षको उमेरमा छैटौं पटक गर्भवती भएकी थिइन् ।
स्वास्थ्यकर्मीका अनुसार धेरै पटक र छोटो अन्तरालमा बच्चा जन्माउँदा आमाको शारीरिक अवस्था र पाठेघर कमजोर भइसकेको हुन्छ । जसले गर्दा गर्भको बच्चामा समेत गम्भीर जोखिम निम्तिन्छ । नन्दालाई घरमै लगातार १२ घण्टासम्म प्रसूति व्यथा लाग्यो । ढकारी स्वास्थ्य संस्थामा जटिल प्रसूतिको व्यवस्थापन हुन सक्ने अवस्था र आवश्यक उपकरण नभएपछि उनलाई हतार–हतार जिल्ला अस्पताल ल्याइयो । सूचना अधिकारी मगरका अनुसार चिकित्सकको अथक प्रयासका बाबजुद पनि गर्भमा रहेको शिशु जीवित रहन सकेन र मृत जन्मियो ।
सबैभन्दा ठूलो पीडा नन्दाका लागि त्यतिबेला भयो, जब उनले मृत जन्मिएको शिशु छोरा भएको थाहा पाइन् । यसअघि लगातार छोरी जन्माएको भन्दै परिवार र समाजले उनलाई मानसिक रूपमा हिंसा गर्दै आएका थिए । ‘छोरा नभएको भन्दै निकै बचन सहेँ, अब त झन् छोरा जन्मिएर पनि बचाउन नसकेकी अभागी भन्दै सबैले मलाई नै दोष दिन्छन्,’ उनले भनिन्, ‘गर्भमै मृत्यु भएको बच्चा छोरा रहेको थाहा पाएपछि कुरुवा बसेका श्रीमान् पनि अलपत्र छोडेर हिँड्नुभयो । मृत बच्चाको अन्तिम संस्कार गर्ने बेला मलाई ढाडस दिने कोही थिएन ।’
शिशु मृत जन्मिएर श्रीमान्ले अस्पतालमै छोडेर हिँडेपछि नन्दाका लागि संसार झन् कष्टकर बन्यो । सन्तान गुमाएको पीडा र श्रीमान्को धोका एकातिर थियो भने सुत्केरी अवस्थामा पाउनुपर्ने स्याहार त उनले पाउँदै पाइनन् । ‘वंश धान्ने छोरालाई जीवितै पृथ्वीमा ल्याउन नसकेको भन्दै श्रीमान् र सासू-ससुराले अहिले पनि उस्तै हेला गर्छन् ।’
मंगलसेन नगरपालिका-७ की २१ वर्षीया सरिता (नाम परिवर्तन) ले श्रीमान्सितकै सल्लाहमा दुई वर्षपछि मात्र सन्तान पाउने योजना बनाएकी थिइन् । चुलोचौको, मेलापात र पढाइका बीच जन्मिने सन्तानको हेरचाह पुर्याउन सकिँदैन भन्ने दम्पतीको बुझाइ थियो । तर, विवाह हुनासाथ सन्तान जन्माउनका लागि सरितामाथि परिवारले लगातार दबाब दिँदै आएको थियो । ‘बिहे गरेको दुई वर्षसम्म सन्तान नभएको भन्दै सासूससुराले अनेक लाञ्छना लगाउँदै धामीझाँक्रीकहाँ लैजान सुरु गरिसकेका थिए,’ सरिताले भनिन्, ‘परिवारको त्यही दबाब थेग्न नसकेर अन्तत: हामीले पहिलो सन्तान पाउने योजना बनायौं । तर, गर्भ रहेपछि घरमा पहिलेभन्दा कामको भार झन् बढ्न थाल्यो । मेलापातबाट घाँस–दाउराका ठूल्ठूला भारी एक्लै बोक्नुपर्ने बाध्यता भयो ।’
सरिताका श्रीमान् रोजगारीको सिलसिलामा भारत जाने गर्थे । श्रीमान् घरमा नभएको त्यही मौका छोपेर सासूससुराले उनलाई गर्भावस्थामा पनि घरायसी कामको अत्यधिक दबाब दिने गरेको उनको भनाइ छ । गर्भावस्थामा कामको बोझ, मानसिक तनाव र आरामको कमीको सीधा असर गर्भको शिशुमा पर्न गयो । ‘८ महिना भएपछि मलाई पेटमा बच्चा नखेलेको (नचलेको) जस्तो महशुुस हुन्थ्यो । तर स्वास्थ्यमा समस्या आउँदा पनि अस्पताल जान पाइँदैनथ्यो । घरको काम मात्रै गरेर बस्नुपर्ने बाध्यता थियो । पछि अस्पताल पुग्दा बच्चा त पेटमै मरिसकेको रहेछ,’ उनले भनिन्, ‘९ महिनासम्म अनेक दु:ख–कष्ट सहेर पेटमा हुर्काएको बच्चालाई जन्किँदा मृत देख्नु आमाका लागि सामान्य पीडा होइन ।’
अछाममा सुरक्षित मातृत्वका कार्यक्रमहरू लागू भएसँगै आमाको मृत्यु हुने दर (मातृ मृत्यु) मा केही कमी आएको जिल्ला अस्पताल अछामकी वरिष्ठ नर्सिङ निरीक्षक गंगा बुढामगर बताउँछिन् । विगतका वर्षभन्दा मृत जन्म संख्या केही घटेको जस्तो देखिए पनि यो समस्या पूर्णरूपमा कम हुन भने सकेको छैन । उनका अनुसार अझै पनि धेरैजसो किशोरी आमाले जन्माउने शिशु मृत जन्मने गरेका छन् । ‘किशोरीहरू आफैं काचो हुन्छन् । गर्भावस्थामा आफ्नो र गर्भमा रहेको बच्चाको स्याहार गर्न सक्दैनन्,’ वरिष्ठ नर्सिङ निरीक्षक बुढामगर भन्छिन्, ‘त्यसमाथि नियमित रूपमा गर्भजाँच नगर्ने परिपाटी छ । धेरैजसो गर्भवती स्वास्थ्य संस्था आइपुग्दा ढिलो भइसकेको हुन्छ र गर्भको बच्चा भित्रै मरिसकेको भेटिन्छ ।’
अछाममा प्रसूति हुने निश्चित मिति नाघिसक्दा पनि घरमै बस्ने र अस्पताल आउन ढिला गर्ने समस्या रहेको उनले बताइन् । उनका अनुसार अझ जटिलता बढेर चिकित्सकले शल्यक्रिया गर्नुपर्छ भन्दा कतिपय परिवार र दम्पतीले मान्दै मान्दैनन् । बुढामगरका अनुसार अछामका तुर्माखाँद, ढकारी र रामरोशन गाउँपालिकामा यो समस्या अन्य पालिकाको तुलनामा बढी देखिएको छ । उनका अनुसार बच्चा मृत जन्मिएपछि ती आमाले भोग्नुपर्ने सामाजिक र पारिवारिक व्यवहार झन् अमानवीय छ । ‘मृत बच्चा जन्माएपछि सुत्केरीले पाउनुपर्ने विशेष स्याहार र पोषिलो खानेकुरा त टाढाको कुरा हुन्छ,’ उनले भनिन्, ‘कतिपय परिवारका सदस्यले त मृत बच्चा जन्माएकै निहुँमा आमालाई अस्पतालभित्रै गालीगलौज र दुर्व्यवहार समेत गर्छन् । कतिपय श्रीमान् र आफन्त त सुत्केरीलाई अस्पतालको शय्यामै अलपत्र छाडिदिन्छन् ।’
स्वस्थ शिशु जन्माउन आमा शारीरिक र मानसिक दुवै हिसाबले परिपक्व हुनुपर्ने नर्सिङ निरीक्षक बुढामगर बताउँछिन् । कम उमेरको विवाह रोक्ने, गर्भावस्थामा पोषिलो खानेकुराको सुनिश्चितता गर्ने र अप्रेसनप्रतिको भ्रम चिर्न सके मात्र अछाममा मृत बच्चा जन्मने दर कम गर्न सकिने उनी बताउँछिन् ।
