असारमा ४७ खाद्य उद्योग-व्यवसायमा अनुगमन, अधिकांश मापदण्डविपरीत

अधिकांश उद्योग-व्यवसायमा गम्भीर लापरबाही र खाद्य स्वच्छताको मापदण्डको उल्लङ्घन पाइएको छ

श्रावण ३, २०८३

सुरज कुँवर

Monitoring of 47 food industries and businesses in Ashar, most of them violate standards

What you should know

काठमाडौँ — खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले असार महिनामा देशभरका ४७ खाद्य उद्योग तथा व्यवसायमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश उद्योग-व्यवसायहरूमा गम्भीर लापरबाही र खाद्य स्वच्छताको मापदण्ड पालना नगरेको फेला परेको छ ।

विभागकी प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार अनुगमनको क्रममा अधिकांश खाद्य उद्योग-व्यवसायहरूले खाद्य स्वच्छताको सामान्य मापदण्ड समेत पालना गरेका छैनन् । अधिकांश रेस्टुरेण्ट, क्यान्टिन र खाजा घरहरूको भान्साको सरसफाई अत्यन्तै कमजोर रहेको उनले बताइन् ।

वरिष्ठ खाद्य अनुसन्धान अधिकृत समेत रहेकी शर्माका अनुसार अधिकांश स्थानमा भुइँ, भित्ता, सिलिङ र पकाउने भाँडाकुँडाहरू फोहोर र अव्यवस्थित थिए । उनले भनिन्, 'कतिपय ठाउँमा ढक्कन नभएका खुला डस्टबिन किचेनमै राखेको पाइयो, जसले हानिकारक सूक्ष्म जीवहरू (जस्तै ब्याक्टेरिया, भाइरस), रसायन वा एलर्जी उत्पन्न गराउने तत्वहरू एउटा वस्तु, व्यक्ति वा सतहबाट अर्को वस्तु, व्यक्ति वा सतहमा सहजै स्थानान्तरण हुने जोखिम छ । अर्को समस्या भण्डारणमा देखिएको छ ।'

उनले पकाएको र नपकाएको खाद्य पदार्थलाई छुट्टाछुट्टै भण्डारण नगरेको, खुला राखेको र फ्रिजको प्रयोग अव्यवस्थित पाइएको बताइन् । धेरैजसो ठाउँमा खाद्य पदार्थलाई उचित तापक्रममा भण्डारण नगरेको र लेबल विवरण नलगाई भण्डारण गरेको पनि भेटिएको थियो । यसले खाद्य पदार्थको गुणस्तर ह्रास हुनुका साथै जीवाणु संक्रमणको जोखिम निम्त्याउँछ ।

खाना पकाउने तेलको गुणस्तरमा धेरै समस्या

विभागले तेलको गुणस्तरमा धेरै समस्या देखिएको जनाएको छ । धेरैजसो रेस्टुरेण्ट र खाजा घरहरूमा फ्राई गर्न प्रयोग गरिने तेलको टिपीएम मापन तोकिएको सीमाभन्दा धेरै फेला परेको छ । टिपीएम मापन गर्दा बढी पाइनु तेलको गुणस्तर ह्रास हुनु र स्वास्थ्यको लागि हानिकारक हुने विभागका खाद्य अनुसन्धान अधिकारीले बताएका छन् ।

टिपीएम भ्यालु तेलको गुणस्तर र स्वच्छताको एउटा महत्वपूर्ण सूचक हो । बढी टिपीएम कम भ्यालु भएको तेल स्वास्थ्यका लागि हानिकारक हुन्छ । अनुगमनका क्रममा अवैध खाद्य रंग र उपभोग मिति समाप्त भएका वस्तु पनि धेरै देखिएको, कतिपय रेस्टुरेण्ट र क्यान्टिनहरूमा सिन्थेटिक खाद्य रंगको अव्यवस्थित प्रयोग भएको पाइएको यसबाहेक उपभोग्य मिति समाप्त भएका खाद्य वस्तुहरू (चाउमिन, चिज, मसला आदि) पनि भण्डारण र प्रयोग भइरहेको भेटिएको छ ।Monitoring of 47 food industries and businesses in Ashar, most of them violate standards

विभागले पानीको गुणस्तर र जारमा पनि समस्या देखिएको जनाएको छ । पानी उद्योगहरूमा पनि सरसफाइको अवस्था कमजोर रहेको कुच्चिएका र पुराना जारहरूको प्रयोग, प्रशोधन कक्षको अव्यवस्थित अवस्था र प्लान्ट चुहिने अवस्थामा रहेको भेटिएको छ । कतिपय उद्योगले उत्पादन र लेबल विवरण नखुलाई पानी बजारमा पठाएको समेत पाइएको छ ।

अडोरा होल्डिङलाई साढे २ लाख जरिवाना, अमूल्य ड्रिकिङ वाटर सर्भिसेसमा सिल

विभागले अनुगमनको क्रममा कैफियत देखिएका उद्योग र व्यवसायहरूलाई कारबाही र निर्देशन दिएको छ । ललितपुरको अडोरा होल्डिङलाई उपभोग्य मिति गुज्रेको र बिनालेबलको खाद्य वस्तु प्रयोग गरेमा उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ । ललितपुरको अमूल्य ड्रिकिङ वाटर सर्भिसेसलाई उद्योगको अवस्था सुधार नहुन्जेलसम्म सिल गरिएको छ । यसबाहेक धेरै उद्योग र व्यवसायहरूबाट खाद्य पदार्थको नमुना संकलन गरी प्रयोगशाला परीक्षणको लागि पठाएको छ  ।

अधिकांश उद्योग र व्यवसायलाई नियमित सरसफाई गर्ने, पेस्ट कन्ट्रोलको प्रभावकारी व्यवस्था गर्ने, आधुनिक डस्टबिनको प्रयोग गर्ने, पकाएको खाना उचित तापक्रममा भण्डारण गर्ने, पूर्ण लेबल भएका खाद्य वस्तु मात्र प्रयोग गर्नेलगायत निर्देशनहरू दिइएको विभागले जनाएको छ । टीपीएम मापन बढी भएको तेल, उपभोग्य मिति गुज्रेका खाद्य वस्तु र कृतिम खाद्य रंग प्रयोग भएका खाद्य पदार्थ नष्ट गरिएको छ । असार महिनाको अनुगमनमा देखिएको खाद्य स्वच्छता मापदण्डको उल्लंघनलाई विभागले गम्भीर चुनौती भनेको छ ।

‘विभाग एक्लैको प्रयासले यो समस्या समाधान हुन कठिन छ । खाद्य स्वच्छता भनेको 'आलीदेखि थालीसम्म' र 'गोठदेखि ओठसम्म'को एउटा लामो शृङ्खला हो,' वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. शर्माले  कान्तिपुरस‌ँग भनिन्, 'त्यसैले यो शृङ्खलामा आबद्ध सबै सरोकारवालाहरूले आफ्नो दायित्व बुझ्न आवश्यक छ ।' उनका अनुसार हालै जारी भएको ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१' ले पनि उत्पादक, प्रशोधनकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र होटल–रेस्टुरेन्ट जस्ता सेवा प्रदायक सबैको दायित्व स्पष्ट रूपमा तोकेको छ ।

उद्यमी र व्यवसायीहरू ऐन–नियम र मापदण्डहरूसँग अद्यावधिक नरहेको अवस्थालाई मध्यनजर गर्दै विभागले विभिन्न जिल्लाहरूमा ८ कार्यालय र २२ वटा डिभिजन कार्यालयहरूमार्फत वर्षमा ३–४ पटक सचेतना र अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ  । विशेष गरी, ‘स्वच्छ पानी उत्पादन निर्देशिका २०७५‘ र दूध तथा दूधजन्य पदार्थको ‘असल उत्पादन अभ्यास सम्बन्धी निर्देशिका' जारी गरिएका छन् । यति हुँदाहुँदै पनि मापदण्ड उल्लंघन हुनुले सेवा प्रदायक र उद्यमीहरूको कमजोरी र नैतिकताको अभावलाई देखाउने गरेको उनले बताइन् ।

विभागले अनुगमन गरेका खाद्य उद्योग-व्यवसाय 

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully