बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने

विभागले देशका विभिन्न भाग भएर बग्ने नदीखोलामा आकस्मिक बाढीको जोखिम रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

श्रावण ३, २०८३

रासस

Koshi Barrage gates to be opened as flood risk increases

काठमाडौँ — जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानको जोखिम भन्दै सचेत रहन आग्रह गरेको छ ।  यससँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको छ ।

प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले नदीमा पानीको बहाव बढेर बाढी जोखिमको अवस्था आएमा आज कोशी ब्यारेजका ढोका क्रमशः खोलिने बताए । जल तथा मौसम विज्ञान विभागका बाढीविद् बिनोद पराजुलीले जलप्रवाहको निरन्तर निगरानी भएको र २१ जिल्लामा बाढीको मध्यम जोखिम रहेको जानकारी दिए ।

प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा प्रतिकार्यका लागि आवश्यक तयारी थालको छ । प्राधिकरणले स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन तथा नदी किनार र पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । साथै, सर्वसाधारणलाई यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवागमन नगर्न प्राधिकरणको अनुरोध छ ।

आकस्मिक बाढीको जोखिम

विभागले देशका विभिन्न भाग भएर बग्ने नदीखोलामा आकस्मिक बाढीको  जोखिम रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ तथा आसपासका जिल्ला भएर साना नदीले बाढीको जोखिम बढाउने विभागको अनुमान छ । यस्तै गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी (पूर्व र पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर आसपासका साना नदीमा पनि आकस्मिक बाढीको जोखिम आउने प्रक्षेपण विभागको छ ।

विभागका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको जलस्तर भने जोखिमरेखाभन्दा तल छ ।

रासस

Link copied successfully