विभागले देशका विभिन्न भाग भएर बग्ने नदीखोलामा आकस्मिक बाढीको जोखिम रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
काठमाडौँ — गएको २४ घण्टामा दाङको अमरपुरमा सबैभन्दा बढी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार त्यहाँ १०७ मिलिमिटर पानी परेको हो ।
२४ घण्टामा सिन्धुपाल्चोकमा १०३ मिलिमिटर, पश्चिम नवलपरासी ६९ मिलिमिटर वर्षा भएको विभागका मौसमविद् डेभिड ढकालले बताए ।
विभागले देशका विभिन्न भाग भएर बग्ने नदीखोलामा आकस्मिक बाढीको जोखिम रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ तथा आसपासका जिल्ला भएर साना नदीले बाढीको जोखिम बढाउने विभागको अनुमान छ । यस्तै गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी (पूर्व र पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर आसपासका साना नदीमा पनि आकस्मिक बाढीको जोखिम आउने प्रक्षेपण विभागको छ ।
विभागका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको जलस्तर भने जोखिमरेखाभन्दा तल छ ।
