बागमती प्रदेशका एमालेका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट राजीनामा दिएर बाहिरिन मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।

श्रावण २, २०८३

प्रताप विष्ट

UML ministers in Bagmati Province directed to resign

हेटौंडा — बागमती प्रदेशका एमालेका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिइएको छ । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट राजीनामा दिएर बाहिरिन मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।

कांग्रेस–एमाले सत्ता गठबन्धनमा समस्या आएपछि आफूले मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन गरेको उनले बताए । मन्त्रीहरूले समय अनुकूल मिलाएर मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई राजीनामा बुझाउने उनको भनाइ छ । 

बागमती सरकारमा एमालेका ६ जना मन्त्री रहेका छन् । मुख्यमन्त्री बानियाँको नेतृत्वमा हाल प्रदेशमा रहेका १४ मन्त्रालयलाई ८ कायम गरिएको छ । साउन १ गतेबाट उक्त निर्णय कार्यान्वयन गर्दै ८ मन्त्रीलाई जिम्मेवारी दिएको छ भने ६ मन्त्रीलाई बिना विभागीय मन्त्रीका रुपमा राखेका छन् ।

बागमती सरकारमा एमालेबाट कृषि पशुपन्छी वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्री डा दिनेशचन्द्र देवकोटा रहेका छन् भने बिना विभागीयतर्फ किरण थापा मगर, जयराम श्रेष्ठ र भरतबहादुर केसी मन्त्री रहेका छन् । बिना विभागीय मन्त्री किरण थापाले भने, ‘राजीनामा दिने निर्देशन आएको छ, अब केही समयपछि नै राजीनामा दिने तयारीमा छौं ।’

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully