रुकुमवासीले मनाए राँको फाल्ने चलन

शरीरमा लाग्ने रोगहरू निवारण हुने जनविश्वासका साथ रुकुमका ग्रामीण भेगमा यस्तो चलन मनाइन्छ ।

श्रावण १, २०८३

महेश केसी

Rukum residents celebrate the custom of throwing shards of wax

What you should know

रूकुम पूर्व — रूकुम पूर्व र पश्चिमका विभिन्न गाउँमा साउने संक्रान्तिका अवसरमा राँको फाल्ने चलन मनाइएको छ । शरीरमा लाग्ने रोगहरू निवारण हुने जनविश्वासका साथ रुकुमका ग्रामीण भेगमा यस्तो चलन मनाइन्छ ।

विशेष गरेर यस दिन दियालो (सल्लाको दाउरा) बालेर त्यसैको अगुल्टो फाल्ने गरिन्छ । रूकुम पूर्वको सिस्ने गाउँपालिका–३ पोखराका ८३ वर्षीय देवबहादुर खत्रीले उहिले शरीरमा चिलाउने रोग ‘लुतो’ खुबै लाग्ने र उक्त संक्रमण नहोस् भनेर यो चलन मनाउने गरिएको बताए । 

‘केत्तुकेको पातमा ओख्खर, सरेटो र चलाका पात, कुरिल्लो अनि पाते सिउँडी आदि राखेर बीचमा दियालो बालेर ‘काईने–कुईने, लुतो–पुतो, काईने–कुईने लैजा हे, कालेराक्स... ।’ भन्दै कराएर घरघरबाट राँको फाल्ने गरिन्छ,’ खत्रीले भने, ‘औलमा मकै-धान लगाएपछि वस्तुभाउ लेक पुगेपछि राँके मनाउँदा बेग्लै रमाइलो हुन्थ्यो ।’ 

असारसम्म मकै गोडमेल र धान रोपेर पनि सकिने भएकाले अब शरीरमा खासगरी घाउ–खटिरा नआउन् भनेर यो चाड मनाउने गरिएको सिस्ने–२ का ७७ वर्षीय जंगबहादुर खड्काले बताए । ‘उहिले औल (बेँसी)बाट लेक उक्लिएपछि डाँडा–डाँडामा रहेका बर्खे गोठमा लहरै राँको बाल्ने गरिन्थ्यो । यसो गर्दा वरिपरी कहाँ–कहाँका गोठालाहरू पुगे भन्ने समेत थाहा हुन्थ्यो ।’ खड्का विगत सम्झिन्छन्, ‘अघिल्लो दिन नै सल्लेरी वनबाट दियालो लिएर आउने अनि मगमग बसाउने त्यही दियालो बालेर राँको फालिन्थ्यो ।’ 

अहिले पनि गाउँमा यी विधिवाचा पुर्‍याएर चाड मनाउने पोखराका खत्रीको भनाइ छ ।

साउने साङ्क्रान्ति वर्षको पहिलो चाड भएकाले पनि यसलाई प्राथमिकताका साथ मनाउने गरिन्छ । रूकुम पूर्वमा मगर समुदायको बसोबास रहेका गाउँहरूमा पनि आजको दिनलाई विशेष मानिन्छ । यहाँका मैकोट, हुकाम, तकसेरा, कांक्री, लुगुमलगायत गाउँका आदिवासी जनजातिहरूले साउने संक्रान्तिलाई राँको फालेर मनाउने मनाउने गर्छन् । 

लगुममा साँझपख घरको बाहिपट्टी मुल ढोका नजिकै विभिन्न बर्खे बालीहरू मकै, सिमि र आलु र सगुनका रूपमा लोकल रक्सी चढाएर राँको बालेर त्यसको तातोले मुहार सेक्ने चलन रहेको मनकुमार पुन बताउँछन् । ‘यसो गरेमा शरीरको चिसो हराउने जनविश्वास छ ।राँकोका ४ वटा अगुल्टालाई घरको मुलीले ३ पटक नाघेर ४ दिशातिर फाल्ने चलन छ,’ पुन भन्छन्, ‘यसका साथै आजकै दिन धनकिलो नामको बिरुवालाई घरको ४ कुनामा राख्ने गरिन्छ । गाईको घारो बजाएर रमाइलो गरिन्छ ।’ 

रूकुम पूर्व र पश्चिमका साथै कर्णालीका विभिन्न जिल्लामा साउने साङ्क्रान्ति भव्य रुपमा हुन्छ । जनविश्वास फरक–फरक भए पनि घरघरमा राँको बाल्ने र अगुल्टो फाल्ने चलनमा भने लगभग एकरूपता पाइन्छ ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully