नागरिकलाई एकद्धार प्रणालीबाट छिटो र छरितो सेवा दिन गृहमन्त्रीको निर्देशन

 ‘गृहमन्त्रीको गृहजिल्लामा एकद्धार प्रणालीबाट काम भए, नभएको सबैले हेरेका हुन्छन्, यहाँ नभए अन्यत्र के होला, एक रुपैयाँ सेवाग्राहीसँग लिएको थाह पाए म आफैएक्सनमा उत्रन्छु’

श्रावण १, २०८३

हरिराम उप्रेती

Home Minister directs to provide quick and efficient services to citizens through a single-door system

What you should know

गोरखा — गृहमन्त्री सुधन गुरुङले एकद्धार प्रणालीबाट नागरिकलाई छिटो र छरितो तवरले सेवा दिन गृहमन्त्रीको निर्देशन दिएका छन् ।

 शुक्रबार साँझ गृहजिल्ला गोरखा आइपुगेका गुरुङले कर्मचारीलाई निर्देशन दिँदै नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्रलगायतका सेवा एकद्धार प्रणालीबाट छिटो र छरितो तवरले सेवा प्रवाह गर्न निर्देशन दिए । ‘१५ मिनेटको ठाउँमा १६ मिनेट भए पनि कम्प्रोमाइज गर्दिनँ,’ गुरुङले भने, ‘गृहमन्त्रीको गृहजिल्लामा नै वानडोर सिस्टम सहज नभए अन्य जिल्लामा के होला, आफ्नै जिल्लाका नागरिकलाई गाह्रो भइरहेको छ भनेपछि अन्य ठाउँकाले के सोच्लान्, नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र कसरी वितरण भइरहेको छ, म आफैं पनि हेर्छु ।’

कर्मचारीहरुले एक रुपैयाँ मात्र सेवाग्राहीसँग लिएको पाए आफै ‘एक्सन’मा उत्रने गुरुङले बताए । ‘विचौलियाहरु आएर मिलाएको थाह पाए, कर्मचारीहरुले एक रुपैयाँ मात्र खाएको थाहा पाए पर्सनल्ली एक्सनमा उत्रन्छु,’ उनले भने,‘अहिले पब्लीक जागरुक भइसक्नुभएको छ, रेकर्डिङ गर्नुहुन्छ, यस्तो काम हुन भएन ।’

Home Minister directs to provide quick and efficient services to citizens through a single-door system

कर्मचारीको सबै कोठामा सीसी क्यामेराको व्यवस्था गर्न पनि गृहमन्त्री गुरुङले निर्देशन दिए । ‘सिस्टम चलेको छ वा छैन, जनताले सुविधा पाएको छ वा छैन, भ्वाइससहितको सीसी क्यामेरा राखौं, काठमाडौं बसेर पनि सीसी क्यामेरामार्फत हेर्न सकियोस्,’ उनले भने । 

त्यस्तै गुरुङले वन क्षेत्र अतिक्रमण गरी बनाइएका बाह्रकिलोको टहरा हटाएपछि अब एकतर्फी रुपमा सवारी संचालनको व्यवस्था मिलाउन पनि प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलाई निर्देशन दिएका छन् । ‘एक ठाउँमा जाने, अर्को ठाउँबाट आउने गरी व्यवस्था मिलाउनुपर्‍यो, जाँदा तेह्रकिलोबाट जाने, आउँदा बाह्रकिलोबाट फर्कने भयो भने दुवै बस्तीलाई समस्या पर्दैन,’ उनले थपे,‘यो काम ७ दिनभित्र हुनुपर्‍यो, नत्र विवाद भइराख्छ ।’

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully