धेरैजसो भारतिय मिडियाले सुकुमवासीमाथि ज्यादती, प्रश्न गर्ने मिडियाका गेटमा सरकारी संरक्षणमा गाडी लगेर अवरोध गरिएको, राज्यकै व्यवहारले गणेश नेपालीले आत्मदाह गरेको लगायतका विषय उठाएका छन् ।
काठमाडौँ — भारतिय मिडियामा समेत प्रधानमन्त्री वालेन्द्र शाहको कामकारवाहीमाथी प्रश्न उठाउँदै समाचारहरु प्रकाशित/प्रसारित हुन थालेका छन् । धेरैजसो भारतिय मिडियाले सुकुमवासीमाथि ज्यादती, प्रश्न गर्ने मिडियाका गेटमा सरकारी संरक्षणमा गाडी लगेर अवरोध गरिएको, राज्यकै व्यवहारले गणेश नेपालीले आत्मदाह गरेको लगायतका विषय उठाएका छन् ।
जेन-जी आन्दोलनलगत्तै भएको चुनावमा झन्डै दुई तिहाई बहुमत पाएको रास्वपाको अहिले नागरिक स्तरबाट मात्र होइन, आफ्नै दलका नेता कार्यकर्ताबाट समेत आलोचनामा परेको छ । त्यसमाथि जेन-जी अभियन्ताहरूले नै सरकारको कार्यशैलीको विरोध गर्न थालेका छन् । यिनै विषयलाई प्राथमिकता दिँदै पछिल्लो समय भारतीय मिडियाले समेत प्राथमिकताका साथ समाचार प्रकाशन/प्रसारण गरिरहेका छन् ।
बीबीसी हिन्दीले कान्तिपुरकै समाचारलाई उद्धृत गर्दै 'बालेन शाहविरुद्ध उनकै पार्टीका सांसदहरूमा किन बढ्दै छ असन्तुष्टि ?' शीर्षकमा समाचार छापेको छ । 'बालेन शाह नेपालको प्रधानमन्त्री बनेको चार महिना पनि भएको छैन, तर उनीविरुद्ध थुप्रै प्रश्न उठ्न थालेका छन् । यो प्रश्न नेपालका विपक्षी दलले त उठाएकै छन्, बालेनको रास्वपाभित्र रहेको आन्तरिक विवाद पनि सतहमा आएको छ । सबैभन्दा बढी प्रश्न बालेन शाहको कार्यशैलीलाई लिएर छ,' बीबीसी हिन्दीले लेखेको छ ।
कान्तिपुरमा बुधबार प्रकाशित 'रास्वपा सांसदले नै गर्न थाले सरकारको आलोचना' शीर्षकको समाचारको तस्बिरसहित बीबीसी हिन्दीले लेखेको छ, 'नेपाली भाषाको प्रमुख अखबार कान्तिपुरले रास्वपाका यस्ता ६ जना रास्वपा सांसदको बयान छापेको छ, जसले बालेन शाह नेतृत्वको सरकारप्रति सार्वजनिक रूपमै असन्तोष प्रकट गरिरहेका छन् ।'
त्यस्तै आजतकको डिजिटल संस्करणमा 'कालो चश्मा फुकाल्नुस् भन्दै नेपालमा जेन-जीको प्रदर्शन, प्रम बालेन शाहको राजीनामा माग' शीर्षकमा समाचार प्रकाशित छ । आजतकले लेखेको छ,'नेपालमा एक राइड सेयर चालकको मृत्युले केवल कानुनी व्यवस्था मात्र होइन, सरकारकै कार्यशैलीमाथि पनि गम्भीर प्रश्न खडा गरेको छ । काठमाडौंबाट सुरु भएको विरोधले अब राजनीतिक रूप लिएको छ । युवा प्रदर्शनकारी, विपक्षी दल एवं सामाजिक संगठनले सरकारसँग जवाफदेहिता तय गर्न र जिम्मेवार अधिकारीहरूमाथि कारबाही गर्न माग गरेका छन् ।'
प्रधानमन्त्री वालेन्द्र शाह प्राय: कालो चश्मामै हुने गर्छन् । विरलै मात्र उनले चश्मा उतारेको देख्न पाइन्छ । आजतकले अगाडि लेखेको छ, 'केही सांसदले संसद्मै सरकारलाई घेराबन्दी गरेका छन् । शाहलाई कालो चश्मा उतारेर जनताको सामना गर्न पनि उनीहरूले चुनौती दिएका छन् ।' इन्टिया टुडे ग्रुपकै सह-प्रकाशन इन्डिया टुडेको डिजिटल संस्करणमा पनि जेन-जी प्रदर्शनकारीहरू सरकारको विरोधमा सडकमा फर्किएको समाचार छापिएको छ ।
इन्डिया टुडे टेलिभिजनले पनि वालेन्द्र शाहको चुनावी प्रचार र अहिलेको विरोध प्रदर्शनको फुटेज राख्दै 'जेन-जी आइकन नै जेन-जीको एंगर' मा परिणत भइरहेका छैनन् भनेर भिडियो सामग्री प्रसारण गरेको छ । इन्डिया टुडेले समाचार संस्था एएनआईका भिडियोसहित सेयर बजारका लगानीकर्ताका भनाइसमेत समेटेको छ ।
जीन्युजले पनि फेसबुक पेजमा गणेश नेपालीको मृत्युपछि भएको प्रदर्शनका बारेमा यही समाचार पोस्ट गरेको छ ।
टाइम्स नाउले पनि गणेश नेपालीको मृत्युपछि 'जेन-जी प्रोटेस्ट्स रक नेपाल' भन्दै भिडियो सामग्री प्रसारण गरेको छ । टाइम्स नाउले भाउ नपाएपछि किसानहरूले माइतीघर मण्डलमा टमाटर फालेर गरेको विरोध प्रदर्शनलाई पनि समाचार बनाएको छ ।
त्यस्तै एनडीटीभी अंग्रेजीले भने 'बालेनबाट जेन-जीलाई धोका' भन्दै पछिल्ला प्रदर्शनका बारेमा समाचार प्रसारण गरेको छ । 'काठमाडौंका सडकमा फेरि अशान्ति फर्किएको छ । तर यसपटक आक्रोश परिवर्तनको वाचा गरेका तिनै नेतातर्फ सोझिएको छ । केही महिनाअघि जेन-जी र विद्यार्थीहरूको विशाल आन्दोलनको लहरमा सत्तामा पुगेका प्रधानमन्त्री बालेन शाह अहिले आफैंलाई जिताउने युवा मतदाताको कडा विरोधको सामना गरिरहेका छन्,' एनडीटीभीले भनेको छ ।
त्यस्तै इन्डियन एक्सप्रेसमा पनि 'युवकको आत्मदाह प्रयासपछि बालेन सरकारविरुद्ध जेन-जीको आक्रोश' शीर्षकमा समाचार प्रकाशित भएको छ । साथै उचित व्यवस्थापनबिना सुकुमवासीहरूलाई उठाइएको विषय पनि इन्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ ।
त्यस्तै इन्डिया टुडे ग्रुपअन्तर्गत सञ्चालित मिडिया प्लेटफर्म लल्लनटपले पनि गणेश नेपालीको मृत्युपछिको प्रदर्शनलाई प्राथमिकता दिएको छ । 'को हुन् गणेश नेपाली, जसको मृत्युपछि सडकमा उत्रिए जेन-जी, बालेन शाहमाथि के-के आरोप लागेको छ ?' शीर्षकमा लल्लनटपले सामग्री प्रसारण गरेको छ । सुकुमवासी बस्तीको विषय र जेन-जी अभियन्ता माजिद अन्सारीको पक्राउबारे पनि लल्लनटपले प्राथमिकता दिएको छ ।
भारतको पुरानो र प्रभावशाली अंग्रेजी दैनिक हिन्दुस्तान टाइम्सले पनि गणेश नेपालीको घटनापछि वालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध प्रदर्शन चर्किएको समाचार छापेको छ ।
त्यस्तै फर्स्टपोस्टले 'नेपालमा मिलेनियल नेता बालेन शाहविरुद्ध जेन-जीको आक्रोश किन चुलियो ?' शीर्षकमा एक्सप्लेनर छापेको छ । 'प्रधानमन्त्रीको शपथ लिएको केही महिनामै बालेन्द्र शाह जेन-जीको आक्रोशको निशानामा परेका छन् । हालैका डोजर अभियान र पार्किङ विवादका क्रममा एक चालकले आत्मदाह गरेपछि नेपालका युवाहरू फेरि काठमाडौंका सडकमा उत्रिएका छन्,' फर्स्टपोस्टले लेखेको छ ।
यसैबीच भारतीय समाचार संस्था एएनआईले प्रधानमन्त्री शाह छिट्टै भारत भ्रमणमा जाने समाचार पनि छापेको थियो । त्यही समाचार फर्स्टपोस्टलगायत अन्य भारतीय मिडियाले पनि प्रकाशन गरेका छन् । काठमाडौं र नयाँदिल्ली दुवैले प्रधानमन्त्री शाहको भ्रमणको तयारी गरिरहेको एएनआईको दाबी छ । काठमाडौंस्थित स्रोतलाई उद्धृत गर्दै एएनआईले लेखेको छ, 'भ्रमण छिट्टै नै हुनेछन् । हामीले भ्रमणका विविध पक्षका बारेमा छलफल गरिरहेका छौँ, टुंगिएको भने छैन ।'
