थमन विक हत्यामा पक्राउ परेका एमाले पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले बिहीबार कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

असार ३२, २०८३

सन्तोष सिंह

Supreme Court orders release of former UML MP Koiri, arrested in Thaman Bik murder case

काठमाडौं — सर्वोच्च अदालतले सशस्त्र प्रहरीका असई थमन विक हत्यामा दोषी ठहर भएका नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई कारागारमुक्त गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले बिहीबार कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको हो । 

बन्दी प्रत्यक्षीकरण रिटको सुनवाइमा सर्वोच्च अदालतले उनलाई अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए रिहा गर्न आदेश गरेको हो । 

थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले उनलाई ५ वर्ष जेल सजाय सुनाएको थियो । सुनवाइको भोलिपल्टै कोइरीलाई पक्राउ गरी जलेश्वर कारागार चलान गरिएको थियो।  

गत १९ असारको कैदी पुर्जी कानुनसम्वत नरहेकोले उनलाई थुनामुक्त गर्न आदेशमा भनिएको छ ।

मधेश आन्दोलनको क्रममा २५ भदौ २०७२ मा हेटौंडाबाट संयुक्त राष्ट्रसंघीय मिसनका लागि परीक्षा दिएर ड्युटीको लागि महोत्तरी आएका असई थमन विकमाथि महोत्तरीमा आन्दोलनकारीले आक्रमण गरेका थिए ।

घाइते विकलाई जलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि एम्बुलेन्समा जनकपुर ल्याउँदै गर्दा महोत्तरीको साविक अनैठा गाविसमा आन्दोलनकारीले निकालेर कुटपिट गर्दा उनको ज्यान गएको थियो ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully