विद्रोही थारू नेताको निधन

थारूलाई राजनीतिमा लागेर आफ्नो सबै सम्पत्ति सक्ने र स्वच्छ चरित्रको नेताका रूपमा पनि चिनिन्छ ।

असार ३२, २०८३

रुपा गहतराज

Rebel Tharu leader passes away

नेपालगन्ज — राप्रपाका संस्थापक वरिष्ठ नेता, पूर्वमन्त्री फत्तेहसिंह थारूको ८७ वर्षको उमेरमा बिहीबार नेपालगन्जमा निधन भएको छ । 

नेपालगन्जको घरबारी टोलस्थित निवासमा हृदयघात भइ उपचारका लागि वेस्टर्न अस्पताल लगिएकामा उपचारका क्रममा  उनको निधन भएको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले बताए । 

पञ्चायत र बहुदलीय कालमा गरी उनी शिक्षा, सञ्चार, कृषि, रक्षा, उद्योग र वाणिज्य लगायत सातपटक मन्त्री भएका थिए  । पञ्चायतकालमा  २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका थिए भने बहुदलीय व्यवस्थामा २०५१ मा बाँके ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । 

नेपालगन्जका साहित्यकार खगेन्द्र गिरि ‘कोपिला’का अनुसार पश्चिम नेपालको थारू समुदायबाट एमए डीएफए गर्ने व्यक्ति पनि उनै थिए । ‘पहिले पञ्चायती व्यवस्था र पछि राप्रपामा लागेर राजनीति गरेका थारू आफ्नो राजनीतिक जीवनमा सधैं विद्रोही नै रहे,’ उनले भने, ‘तर उनले आफ्नो सैद्धान्तिक धरातल र राष्ट्रवादी कित्तालाई भने कहिल्यै छाडेनन् ।’

उनले पञ्चायतकालमा २०२३ मा बाँकेको हस्नापुर गाउँ पञ्चायतको प्रधानपञ्च भएर राजनीति आरम्भ गरेका थिए । तीनपटक बाँके जिल्ला पञ्चायतको सभापति र एक पटक गाउँफर्क राष्ट्रिय अभियान केन्द्रीय समितिको सदस्य पनि भएका थिए ।

बाँकेको थपुवा गाउँका जमिनदार देवीराम थारूका ज्येष्ठ पुत्रका रूपमा जन्मिएका थारुलाई राजनीतिमा लागेर आफ्नो सबै सम्पत्ति सक्ने र स्वच्छ चरित्रको नेताका रूपमा पनि नेपालगन्जमा चिनिन्छ । 

थारूको अन्तिम दाहसंस्कार शुक्रबार राप्ती नदीको सिधनियाघाट गरिने परिवारजनले जनाएका छन् । उनका दुई श्रीमती र चार छोराछोरी छन् ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully