भूमि व्यवस्थापन विभागले सञ्चालनमा ल्याएको सार्वजनिक पहुँच प्रणाली (पब्लिक एक्सेस मोड्युल)मा उत्पन्न समस्याका कारण सेवाग्राहीहरू मर्कामा परेका छन् ।
काठमाडौं — भूमि व्यवस्थापन तथा अभिलेख विभागले सेवाग्राहीका लागि सञ्चालन गर्दै आइरहेको सफ्टवेयरमा २ दिनदेखि समस्या देखिएको छ । विभागले सञ्चालनमा ल्याएको सार्वजनिक पहुँच प्रणाली (पब्लिक एक्सेस मोड्युल)मा उत्पन्न समस्याका कारण सेवाग्राहीहरु मर्कामा परेका छन् ।
विभागले बिहीबार जारी गरेको सूचनाअनुसार प्रणालीमा आएको प्राविधिक समस्याका कारण ३१ असार र १ साउनसम्म सेवा प्रभावित हुनेछ । मालपोत तथा भूमि प्रशासनसँग सम्बन्धित सफ्टवेयरमा पटक पटक समस्या आउँदा सेवा अवरुद्ध हुने र सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने अवस्था देखिँदै आएको छ । विभागका एक कर्मचारीका अनुसार सेवाग्राही लेखापढीदेखि बैंकिङ संस्थाहरूले 'रिक्वेस्ट फर्म' भर्ने सिस्टममा समस्या देखिएको बताए । उनले सिस्टममा समस्या आउँदा जग्गा रोक्का राख्ने निवेदन, पास गर्ने जस्ता कामहरू रोकिने बताए ।
एकैपटक सिस्टममा लोड भएकाले समस्या भएको बताउँदै उनले विभागले चलाउने सिस्टममा काम भइरहेको बताए । उनले भने, 'सेवाग्राहीलाई प्रदान गरिरहेको सिस्टममा समस्या देखिएको हो । विभागले चलाउने सिस्टम चलिरहेको छ हामीले भूमि प्रशासनको सर्भिस डेक्सबाट नै सेवा दिइरहेका छौं ।
‘हिजो र आज कर्मचारीहरूले निवेदन लिएर काम गरिरहेका छौं,' उनले भने, ‘धेरै लोड भएमा समस्या देखिएको जस्तो छ शुक्रबारबाट सञ्चालनमा ल्याउने तयारी छ ।’
