न्याय परिषदले गर्यो उच्च अदालतका ५० न्यायाधीशको सरुवा

प्रधानन्यायाधीश मनोजकुमार शर्माको अध्यक्षतामा बसेको परिषदको बैठकले पहिलो पटक उच्च अदालतका न्यायाधीशको ठूलो संख्यामा सरुवा गरेको हो।

असार ३२, २०८३

दुर्गा दुलाल

Judicial Council transfers 50 High Court judges

काठमाडौँ — न्याय परिषदले उच्च अदालतका ५० न्यायाधीशको सरुवा गरेको छ। आज बसेको न्याय परिषदको बैठकले विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्टलाई उच्च अदालत सुर्खेतमा सरुवा गरेको छ। उनी जनकपुर उच्च अदालतमा दरबन्दी कायम हुँदै विशेष अदालतमा काजमा रहेका थिए।

त्यस्तै, श्रम अदालतका अध्यक्ष जनक पाण्डेलाई उच्च अदालत पाटनको हेटौंडा इजलासमा सरुवा गरिएको छ। वैदेशिक रोजगार न्यायाधिकरणका अध्यक्ष शान्ता सेढाईं सापकोटालाई उच्च अदालत दिपायलमा सरुवा गरिएको छ। विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेललाई उच्च अदालत जनकपुरको राजविराज इजलासमा सरुवा गरिएको छ। विशेष अदालतका अर्का सदस्य उमेश कोइरालालाई उच्च अदालत पाटनमा दरबन्दी सरुवा गरिएको छ।

प्रधानन्यायाधीश मनोजकुमार शर्माको अध्यक्षतामा बसेको परिषदको बैठकले पहिलो पटक उच्च अदालतका न्यायाधीशको ठूलो संख्यामा सरुवा गरेको हो। नयाँ आर्थिक वर्ष सुरु हुनुअघिल्लो दिन परिषदले न्यायाधीशहरूको सरुवा गरेको हो। परिषदले उच्च अदालतपछि जिल्ला न्यायाधीशहरूको सरुवा गर्ने तयारी गरेको छ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully