सम्पत्ति छानबिन आयोगका सबै काम स्थगित

सर्वोच्च अदालतले २६ असारको अन्तरिम आदेशलाई उल्लेख गर्दै दोस्रो पटक सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न आदेश गरेको थियो ।

असार ३२, २०८३

दुर्गा दुलाल

All work of the Property Investigation Commission has been suspended.

काठमाडौं — सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन र छानबिन समेतका सबै काम स्थगित गरेको छ । आयोगले बिहीबार सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतले बुधबार दिएको आदेशबमोजिम सबै काम स्थगित गरेको जनाएको छ । 

पूर्वन्यायाधीश, संवैधानिक आयोगका पूर्वपदाधिकारी र नेपाली सेनाका पूर्वपदाधिकारीबाहेकका अन्य सार्वजनिक जवाफदेहिताको जिम्मेवारी निर्वाह गरेका राजनीतिक पदाधिकारी तथा कर्मचारीहरूको तर्फबाट आयोगको २९ असारमा प्रकाशित सूचना नम्बर ४ बमोजिम सम्पत्ति विवरण संकलनको काम जारी रहेकोमा स्थगित भएको आयोगले जानकारी दिएको छ । 

‘३१ असारको आदेशबाट रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कसैबाट पनि सम्पत्ति विवरण संकलन र छानबिन समेतको कार्य नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी भै आएकोले यस आयोगबाट अर्को सूचना प्रकाशित नभएसम्म सम्पत्ति विवरण संकलन र छानबिन समेतका सबै काम हाल स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ’ आयोगको सूचनामा उल्लेख छ ।

सर्वोच्च अदालतले २६ असारको अन्तरिम आदेशलाई उल्लेख गर्दै दोस्रो पटक सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न आदेश गरेको थियो । सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको नेतृत्वमा गठन भएको आयोगले सम्पत्ति विवरण बुझाउन दिएको समय पनि आजदेखि सकिएको छ ।All work of the Property Investigation Commission has been suspended.

दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully