इजरायलका लागि ११ सय १५ केयरगिभर छनोट, थप १९ सय ८५ जना लैजाने तयारी

इजरायलमा जाने केयरगिभरको मासिक तलब ६ हजार ४ सय ४३ इजरायली मुद्रा (करिब ३ लाख ४७ हजार रुपैयाँ) छ । यसमा खाना र आवासको खर्च भने आफैंले बेहोर्नुपर्ने हुन्छ । इजरायल जाने सबै लागत शुल्क भने श्रमिककै हुनेछ ।

असार ३२, २०८३

होम कार्की

1,115 caregivers selected for Israel, preparations to take 1,985 more

काठमाडौँ — दीर्घकालीन स्याहार केन्द्रमा काम गर्ने सहायक श्रमिक (केयरगिभर) का रूपमा इजरायल जान छनोट भएका १,११५ जनाको वरीयता सूची इजरायली सरकारले वैदेशिक रोजगार विभागमा पठाएको छ । जसमा ७५ प्रतिशत पुरुष र २५ प्रतिशत महिला छन् । यही सूचीका आधारमा इजरायल पठाउने प्रक्रिया विभागले सुरु गर्नेछ । इजरायल जान २३ सय जनाका लागि विज्ञापन खुलाइए पनि अंग्रेजी भाषा परीक्षामा उत्तीर्ण हुन नसकेका कारण यसबाट आधाभन्दा कम संख्या मात्रै छनोटमा परेका थिए ।

इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा) ले लक्की ड्रमार्फत केयरगिभरमा जानेहरूको वरीयता सूची तयार गरेको हो । वैदेशिक रोजगार विभागले अंग्रेजी भाषा परीक्षामा उत्तीर्ण भएका १,२३१ जनाको कागजात छानबिन गरी १,१४० जनाको नामसूची पिवामा पठाएको थियो । जसमध्ये मापदण्ड पुगेका १,११५ जनाको नामसूची सार्वजनिक गरिएको हो ।

यसका अलावा पिवाले नेपालका लागि थप ८ सय जनाको कोटा पनि स्वीकृत गरेको छ । यो नयाँ कोटाका अलावा यसअघिको कोटाबाट अपुग १,१८५ गरी अब १,९८५ जनाको कोटाका लागि भाषा परीक्षा हुने पिवाले जनाएको छ ।

‘नेपालका लागि छुट्याइएको कोटामा छनोटको प्रक्रिया अब सुरु हुन्छ,’ पिवाकी निर्देशक शिर्ले राईसिन स्यासनले भनिन्, ‘यो सबै श्रम सम्झौताअन्तर्गत रहेर श्रमिकको भर्ना हुन्छ ।’ उनले नेपालबाट श्रमिक लैजान आफूहरू उत्साहित रहेको बताइन् ।

नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले इजरायलको श्रमिक भर्ना छनोट निकै पारदर्शी भएको बताए । ‘नेपाल र इजरायलबीचको श्रम सम्झौता प्रभावकारी रूपमा अगाडि बढेको छ । यसलाई कार्यान्वयन गर्न दुवै देशका निकायबीच मेहनत भइरहेको छ,’ उनले भने । उनले इजरायलको कृषि र आवासीय क्षेत्रमा श्रमिक लैजान दुईवटा प्रोटोकलमा काम भइरहेको बताए ।

वैदेशिक रोजगार विभागका इजरायल शाखाका अधिकृत धनञ्जय शाहले पिवाबाट आएको सूचीअनुसार श्रमिक पठाउने काम सुरु गर्ने बताए । छनोट भएका सहायक श्रमिकले दीर्घकालीन स्याहार केन्द्रमा जुनसुकै उमेरका गम्भीर शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्तिको स्याहारका लागि काम गर्नुपर्ने विभागले जनाएको छ । यसरी जाने श्रमिकको करार अवधि ५ वर्षसम्म रहनेछ ।

इजरायलमा जाने केयरगिभरको मासिक तलब ६ हजार ४ सय ४३ इजरायली मुद्रा (करिब ३ लाख ४७ हजार रुपैयाँ) छ । यसमा खाना र आवासको खर्च भने आफैंले बेहोर्नुपर्ने हुन्छ । इजरायल जाने सबै लागत शुल्क भने श्रमिककै हुनेछ । इजरायलले सन् २०२२ अगस्टदेखि नेपालबाट दीर्घकालीन स्याहार केन्द्रका लागि केयरगिभर लैजान थालेको हो ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully