भारत मेघालयका सीएमजी विश्वविद्यालयका १३, टेक्नो ग्लोबल विश्वविद्यालयका २, मणिपुरको साङ्गाई विश्वविद्यालयको ९८ र प्रज्ञान इन्टरनेसनल विश्वविद्यालयका १ विद्यार्थीको समकक्षता रद्द गरिएको हो ।
काठमाडौं — त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले ४ भारतीय विश्वविद्यालयबाट प्राप्त शैक्षिक प्रमाणपत्रको आधारमा प्रदान गरेको समकक्षता रद्द गरेको छ । बुधबार सूचना जारी गरी केन्द्रले ४ विश्वविद्यालयका ११४ विद्यार्थीको समकक्षता पत्र रद्द गरेको जनाएको हो ।
सूचनाअनुसार भारत मेघालयका सीएमजी विश्वविद्यालयका १३, टेक्नो ग्लोबल विश्वविद्यालयका २, मणिपुरको साङ्गाई विश्वविद्यालयको ९८ र प्रज्ञान इन्टरनेसन विश्वविद्यालयका १ विद्यार्थीको समकक्षता रद्द गरिएको हो । स्नातक, स्नातकोत्तर र विद्यावारिधी तहको समकक्षता रद्द गरिएको सूचनामा उल्लेख छ । त्रिविले यी विश्वविद्यालयबाट प्राप्त डिग्रीको छानबिन गरेको थियो । छानबिनपछि अमान्य रहेको ठहर गरेको हो ।
केन्द्रले ३५ दिने सूचना प्रकाशित गरी समकक्षता प्राप्त व्यक्तिहरुलाई प्रर्याप्त आधार र प्रमाणहरु पेस गर्न सूचित गरेको थियो । ती विद्यार्थीहरूले समकक्षता रद्द गर्नु नपर्ने आधार पेस गर्न नसकेको सूचनामा जनाइएको छ ।केन्द्रले त्रिभुवन विश्वविद्यालय उपाधि मान्यता तथा समकक्षतासम्बन्धी विनियम २०८२ को दफा २१ को आधारमा समकक्षताहरू रद्द गरिएको जनाएको छ ।
दफा २१ मा कुनै आवेदकले पेस गरेको प्रमाणपत्रको आधारमा मान्यता वा समकक्षता प्रदान गरेकोमा पछि प्राप्त प्रमाणको आधारमा निजले पेस गरेको विवरण झुठा वा गैरकानुनी देखिए रद्द गर्न सकिने उल्लेख छ । त्यस्तै समकक्षता प्रदान गर्न अपर्याप्त देखिएमा उक्त मान्यता वा समकक्षतापत्र जुनसुकै समयमा उपाधी मान्यता तथा समकक्षता निर्धारण समितिले रद्द गर्न सक्ने व्यवस्था छ । त्यस्तो अवस्थामा आवेदकलाई सफाईको उचित मौका दिइने विनियममा उल्लेख छ ।
त्रिवि पाठ्यक्रम विकास केन्द्रमा निर्देशक प्राध्यापक रामकृष्ण तिवारीले ती समकक्षता माथि उजुरी परेपछि भारतीय विश्वविद्यालय अनुदान आयोगको समन्वयमा छानबिन गरिएको बताए । 'विद्यार्थीले शैक्षिक प्रमाणपत्र प्राप्त गरेको बेलामा ती विश्वविद्यालयको अनुदान आयोगसँग आबद्धता टुटेको रहेछ । शैक्षिक प्रमाणपत्रमा नै वैधता नभएपछि समकक्षता कायम राख्न सकिएन ।’
विद्यार्थीलाई सफाईको मौका दिए पनि ३५ दिनपछि समय थप गर्दा पनि कसैले प्रमाण ल्याउन नसकेको तिवारीले बताए । विदेशमा उच्चशिक्षा अध्ययन गरेर फर्केका विद्यार्थीलाई त्रिविले समकक्षता प्रदान गर्दै आएको छ । सरकारको निर्णयअनुसार १ साउनदेखि समकक्षतासम्बन्धी काम विश्वविद्यलाय अनुदान आयोगबाट हुनेछ ।
