मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान

जल तथा मौसम विज्ञान विभागले भारी वर्षा हुने क्षेत्रका बासिन्दालाई नदी तथा खोला आसपास, पहिरो जोखिम स्थान तथा कमजोर भूबनोट भएका क्षेत्रमा रहँदा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

असार ३१, २०८३

रासस

Rainfall forecast to increase in central and western Nepal

काठमाडौँ — मौसमविद्ले आगामी केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम क्रमशः बढ्दै जाने पूर्वानुमान गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले सोमबार र मंगलबारको तुलनामा बुधबार वर्षामा केही कमी आए पनि बिहीबारदेखि भने मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्ने पूर्वानुमान रहेको बताए ।

विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ । मनसुनको न्यूनचापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फको तराई नजिक तथा पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले मध्य र पश्चिम क्षेत्रमा वर्षाको गतिविधि बढ्ने सङ्केत देखिएको विभागको भनाइ छ ।

अधिकारीका अनुसार हिमाली र तराई भूभागमा अहिले सामान्यदेखि पूर्ण बदली छ । पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा बझाङमा ५४.८ मिलिमिटर मापन भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोक आसपास तथा कोशी प्रदेशका केही स्थानमा भारी वर्षा भएको विभागले जनाएको छ ।

मौसमविद् अधिकारीका अनुसार आज हिमाली क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ । त्यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा पनि वर्षा हुने सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा वर्षा हुने सम्भावना रहे पनि मधेश प्रदेशमा तुलनात्मक रूपमा कम वर्षा हुने पूर्वानुमान छ ।

विभागले भारी वर्षा हुने क्षेत्रका बासिन्दालाई नदी तथा खोला आसपास, पहिरो जोखिम स्थान तथा कमजोर भूबनोट भएका क्षेत्रमा रहँदा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

रासस

Link copied successfully