दिउँसो १२ बजे सुरु हुने भनिएको वार्ता झन्डै ८ घन्टापछि पुन: सुरु भएको हो ।
निजगढ,कलैया — मिटरब्याजपीडित र गृहमन्त्री सुधन गुरुङबीच पुन: वार्ता सुरु भएको छ । बुधबार दिउँसो १२ बजे सुरु हुने भनिएको वार्ता झन्डै ८ घण्टापछि सुरु भएको हो । दुई पक्षीय वार्ता बाराको निजगढस्थित नगर उद्योग वाणिज्य संघको भवनमा जारी छ ।
अहिले गृहमन्त्री गुरुङले पीडितको तर्फबाट प्रस्तुत मागको अध्य्ययन गरिरहेका छन् ।
पीडितहरुसँग वार्ता गर्न गृहमन्त्री गुरुङ मंगलबारदेखि नै निजगढ आएर पटक पटक वार्ता गरिरहेका छन् । वार्ताका लागि पीडित पक्षले गृहमन्त्री गुरुङसमक्ष आफ्ना ६ बुँदे मागसहितको मस्यौदा (ड्राफ्ट) बुझाइसकेको मिटरब्याजपीडितको आन्दोलनमा सहभागी संयुक्त जनअधिकार मोर्चा नेपालका संयोजक निर्ग नवीनले जानकारी दिए ।
पीडितहरु न्यायका लागि भन्दै गत असार २५ गते जनकपुरबाट पैदलयात्रा सुरु गरी काठमाडौंका लागि हिँडेका थिए । उनीहरु दुई दिनदेखि निजगढमा रोकिएका छन् । गृहमन्त्री गुरुङसँग निजगढमै वार्ता हुने तय भएपछि उनीहरुले पैदल यात्रा स्थगित गरेर गृहमन्त्रीसँग वार्तामा बसेका हुन् ।
पीडितहरुले ६ बुँदे माग अघि सारेपछि मंगलबारदेखि नै निजगढस्थित उद्योग वाणिज्य संघको हलमा वार्ता सुरु भएको थियो । मंगलबार राति अबेरसम्म भएका छलफलमा सहमति जुट्न नसकेपछि बुधबार मध्याह्न १२ बजेदेखि पुनः वार्ता बस्ने तय भएको थियो । तर गृहमन्त्री गुरुङ सिमरामा भेटघाट र केही क्षेत्रको अनुगमनपछि पर्सा निकुञ्जस्थित मन्दिर दर्शन गर्न गएका थिए । यहीबीच पीडित अगुवाहरु भने आन्तरिक छलफलमा जुटेका थिए ।
