जेन-जी अगुवा माजिद अन्सारी बुधबार त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् ।
काठमाडौँ — जेन-जी अगुवा माजिद अन्सारी बुधबार त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् ।
नेपाल ल क्याम्पसमा एलएलबी अध्ययनरत अन्सारी शनिबार कीर्तिपुरस्थित सुकुम्बासीका लागि बनाइएको होल्डिङ सेन्टरमा विस्थापित परिवारसँग ऐक्यबद्धता जनाउन पुगेका थिए । त्यही क्रममा प्रहरीले उनलाई कुटपिट गर्दै नियन्त्रणमा लिएको थियो । घटनापछि प्रहरीले अन्सारीसँगै सरिश्मा थापा र नेल्सन घतानीलाई नियन्त्रणमा लिएको थियो । थापा र घतानीलाई सोही साँझ बयान लिएर छाडिए पनि अन्सारी शनिबारदेखि नै उपचारका लागि अस्पताल भर्ना भएका थिए ।
अन्सारीले उपचारका क्रममा पनि केही दिन प्रहरीहरू अस्पतालको क्याबिनभित्रै बसेको र कानुन व्यवसायीहरूले आपत्ति जनाएपछि मात्र बाहिरिएको आरोप लगाए ।
कीर्तिपुर प्रहरी वृत्तका प्रमुख डीएसपी शिवकुमार बुढाथोकीले भने यसअघि अन्सारीलाई प्रहरीको काममा अवरोध गरेको आरोपमा नियन्त्रणमा लिइएको बताएका थिए ।
यता काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसएसपी पवनकुमार भट्टराईले भने अन्सारी पक्राउ नपरेको दाबी गरे । ‘पहिले पनि उहाँ पक्राउ नभई होल्डिङ जोनमा व्यवस्थापनमा गर्न जाने बेला गेटमा दुई पक्षबीच हानथाप हुँदा प्रहरीले हटाउने क्रममा चोट लागेर कीर्तिपुर लगेको हो,’ उनले कान्तिपुरसँग भने, ‘चोट लाग्यो भन्नुभएछ, त्यसपछि कीर्तिपुर अस्पताल पठाएको हो, उहाँले फ्याक्चर छ भन्नुभएको रहेछ, त्यसैले शिक्षण अस्पतालमा पठाइएको थियो ।’
