पुरातत्त्व विभागले नेपालका ऐतिहासिक स्मारक र धरोहरहरूलाई तिनको ऐतिहासिकता, कलाकृति, र प्राचीनताका आधारमा वर्गीकरण गर्ने क्रममा पञ्चदेवललाई उच्च प्राथमिकतामा राख्दै काठमाडौं उपत्यकाका ऐतिहासिक दरबार क्षेत्रहरू जस्तै यसको पनि ऐतिहासिक र पुरातात्त्विक मूल्य उच्च मानेको छ ।
विनायक, अछाम — अछामको पञ्चदेवल विनायक नगरपालिकामा अवस्थित ऐतिहासिक एवं पुरातात्त्विक धरोहर पञ्चदेवल संरक्षण र प्रशासनिक अल्झनको चेपुवामा परेको छ । झण्डै ७ सय वर्ष पुरानो इतिहास बोकेको नेपालको प्राचीन वास्तुकला र नेपाली भाषाको विकासक्रमलाई बुझ्नका लागि अमूल्य कडी मानिने यो क्षेत्र उचित व्यवस्थापन र संरक्षणको पर्खाइमा रहेको छ ।
पञ्चदेवल परिसरको मध्यभागमा रहेको देवलको अग्रभागमा कुँदिएको प्राचीन शिलालेखलाई प्रख्यात इतिहासकार तथा योगी नरहरिनाथले उतारेको उल्लेख गरिएको छ । उक्त शिलालेखमा उल्लेख भएअनुसार यो देवलको निर्माण शाके १२१२ अर्थात् विसं १३३७ मा तत्कालीन मल्ल राजा अक्षय मल्लले पारिवारिक तथा आत्महित एवं सामाजिक एकताको सन्देश फैलाउने उद्देश्यका साथ निर्माण गरेको बताइन्छ ।
पञ्चदेवल विनायक नगरपालिकाकी प्रमुख अम्बिका चलाउने भन्छिन्- 'एउटा भत्केको देवल बनाइदिनूस्, बरू खर्च नगरपालिकाबाटै गर्छौं भन्दा पनि पुरातत्त्व विभागले मानेन ।'यसको निर्माणका लागि ‘जैराजप्रसाद’ नामक प्रसिद्ध कालीगढ र ‘नागदेव’ नामक कुशल मूर्तिकारको संलग्नता रहेको इतिहास छ । लामो इतिहास भए पनि अहिले स्थानीय तह र संघ सरकार मातहतको पुरातत्त्व विभागबीचको समन्वय अभावका कारण संकटमा पर्दै गएको छ । प्रशासनिक र प्राविधिक असमझदारीका बीच मल्लकालीन सभ्यताको यो जीवन्त इतिहास बिस्तारै जीर्ण बन्दै जाने खतरा पनि बढेको छ ।
‘यस वर्ष पनि ५ लाख बजेट राखेका थियौं । काम गर्न नमिल्ने भएपछि रकमान्तर गर्यौं,’ चलाउनेले भनिन्, ‘५ वटा देवलमध्ये एउटा पहिले नै नष्ट भएको छ । स्थानीयका अनुसार त्यो १९९० को भूकम्पमा भत्केको हो । एउटा भत्केको देवल बनाइदिनूस्, बरू खर्च नगरपालिकाबाटै गर्छौं भन्दा पनि पुरातत्त्व विभागले मानेन ।’ स्थानीयले पञ्चदेवलको संरक्षणका लागि नगरपालिकाले केही गरेन भन्ने बुझाइ राखेको तर नगपालिकाको अधिकार क्षेत्रभित्र नपरेकाले काम गर्न नसकेको कुरा बुझाउन नसकिएको उनले बताइन् ।
‘विभागबाट पुरानो स्वरूप कस्तो थियो, फोटो, ड्रइङ र स्केचहरू ल्याउनूस् भन्छन् । हामीसँग त्यस्तो केही छैन । हामी आफैंले केही गर्न मिल्दैन, पुरातत्त्व विभागले आफैं केही गर्दैन,’ नगर प्रमुख चलाउनेले बताइन् ।
यता संघ सरकारको मातहतमा रहेको पुरातत्त्व विभागले भने अछामको यस ऐतिहासिक पञ्चदेवललाई ‘क’ वर्गको सम्पदामा वर्गीकरण गरेको छ । विभागले नेपालका ऐतिहासिक स्मारक र धरोहरहरूलाई तिनको ऐतिहासिकता, कलाकृति, र प्राचीनताका आधारमा वर्गीकरण गर्ने क्रममा पञ्चदेवललाई उच्च प्राथमिकतामा राख्दै काठमाडौं उपत्यकाका ऐतिहासिक दरबार क्षेत्रहरू जस्तै यसको पनि ऐतिहासिक र पुरातात्त्विक मूल्य उच्च मानेको छ ।
पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गको तर्क छ- 'मौखिक रूपमा भनेकै आधारमा अर्को देवल पुरातत्त्व विभागले बनाउन सक्दैन । इभिडेन्स चाहिन्छ । कल्पना गरेर यस्तो कुरा बनाउन मिल्दैन ।' आफैं स्थलगत अनुगमनसमेत गरेर यस क्षेत्रको अवस्था, महत्त्व र संवेदनशीलता बुझेको पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले बताइन् । पञ्चदेवल सुदूरपश्चिमकै रत्न भएको र यो अहिलेसम्म मौलिक स्वरूपमा रहेको उनले बताइन् । ‘त्यसमा सिमेन्ट र इनामेल मिसाएर राम्रो बनाउने होइन । अहिले जे छ, त्यसैलाई जोगाउने हो । नयाँ संरचना राखेर झिलिमिली बनाउनुभन्दा पुरानो स्वरूपमा जोगाउनु ठूलो कुरा हो,’ महानिर्देशक प्रधानाङ्गले भनिन्, ‘नगरपालिकाले लगत इस्टिमेट र ड्रइङ डिजाइन पठायो भने हामी काम गर्नका लागि सहमति दिन्छौं र हाम्रै प्राविधिक पनि पठाउँछौं ।’
मौखिक रूपमा भनेकै आधारमा अर्को देवल पुरातत्त्व विभागले सोही ठाउँमा बनाउन नसक्ने उनले बताइन् । ‘पाँच देवलमध्ये एउटा देखिँदैन, पुरानो स्वरूप कस्तो थियो, त्यसको फोटो वा स्केच भयो भने मात्र हामी बनाउन सक्छौं,’ महानिर्देशक प्रधानाङ्गले भनिन्, ‘इभिडेन्स चाहिन्छ । कल्पना गरेर यस्तो कुरा बनाउन मिल्दैन । त्यता वरिपरि व्यक्तिको जग्गा छ र बगैँचाहरू बनाउने ठाउँ पनि छैन ।’
स्थानीय सरकार र पुरातत्त्व विभागका यी परस्पर बाझिएका भनाइ र दाबीहरूले ऐतिहासिक सम्पदाको आयु बढाउने भन्दा पनि प्रक्रियागत अल्झन मात्रै बढाएको सरोकारवाला बताउँछन् । एकातिर नगरपालिकाले बजेट व्यवस्थापन गर्दा पनि काम गर्न नपाएको गुनासो गरिरहेको छ भने अर्कोतिर विभागले प्रमाण र प्राविधिक डिजाइनबिना काम गर्दा पुरातात्त्विक मौलिकता नष्ट हुने चिन्ताले गर्दा संकटमा परेको स्थानीय बताउँछन् ।
