प्रतीक थापा अदालतबाट सफाइ पाएर छुटेका हुन् भने बेचन झा तोकिएको कैद अवधि पूरा भइसकेकाले थुनामुक्त भएका हुन्
काठमाडौं — नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रयास गरिएको प्रकरणमा पक्राउ परेका बेचन झा र प्रतीक थापा कारागारबाट छुटेका छन् ।
झा तोकिएको कैद अवधि पूरा गरिसकेका कारण छुटेका हुन् भने थापा अदालतले सफाइ दिएपछि कारागारमुक्त भएका हुन् । केन्द्रीय कारागार, सुन्धाराका जेलर कृष्ण चापागाईंका अनुसार, जिल्ला अदालत काठमाडौंको पत्रका आधारमा झा बिहीबार छुटेका हुन् भने थापा एक साताअगाडि नै छुटेका हुन् ।
झालाई अदालतले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना गर्ने आदेश सुनाएको थियो । तर उनी झण्डै २ वर्ष कारागार बसिसकेका छन् ।
थापालाई चाहिँ अभियोग दाबी नपुग्ने भन्दै अदालतले सफाइ दिएको थियो । उनी पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरासमेत हुन् । उनी १४ असार २०८१ मा काठमाडौंबाट पक्राउ परेका थिए ।
झालाई प्रहरीले कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरी काठमाडौं ल्याएकामा अनुसन्धान गरी उनीविरुद्ध २९ साउन २०८१ मा पूरक मुद्दा दायर गरेको थियो ।
भुटानबाट विस्थापित भएर नेपाल छिरेका शरणार्थी सन् १९९० को दशकमा झापा र मोरङमा आएर बसोबास गरेका थिए । शिविरमा बसेका भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका, अस्ट्रेलिया, जर्मनी, न्युजिल्यान्ड, फिनल्यान्ड, क्यानाडालगायत मुलुक पठाइएको थियो ।
तेस्रो मुलुक पुनर्वासमा नगइ नेपालमा बाँकी रहेका करिब ६ हजार ५०० शरणार्थी व्यवस्थापन गर्ने गरी सरकारले अध्ययन कार्यदल गठन गरेको थियो । त्यसले तयार पारेको प्रतिवेदनलाई नै कीर्ते गरेर गिरोहले नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाउने प्रयास गरेको थियो ।
