मिटरब्याजपीडित र गृहमन्त्रीबीच निर्णायक वार्ता हुने, पीडितहरू निजगढमै प्रतीक्षारत

​पीडितहरू न्यायका लागि भन्दै असार २५ गते जनकपुरबाट पैदलयात्रा सुरु गरी काठमाडौंका लागि हिँडेका थिए । उनीहरू दुई दिनदेखि निजगढमा रोकिएका छन् ।

असार ३१, २०८३

शिव पुरी

Decisive talks to be held between meter badge victims and Home Minister, victims waiting in Nijgadh

निजगढ — न्यायको खोजीमा काठमाडौं मार्चमा निस्किएका मिटरब्याज पीडित र गृहमन्त्री सुधन गुरुङबीच केही बेरपछि बाराको निजगढमा निर्णायक वार्ता हुने भएको छ । बाराको निजगढस्थित उद्योग वाणिज्य संघको भवनमा विश्राम गरिरहेका पीडितहरुसँग वार्ता गर्न गृहमन्त्री गुरुङ मंगलबार आफैं निजगढ आइपुगेका हुन् ।

​वार्ताका लागि पीडित पक्षले गृहमन्त्री गुरुङसमक्ष आफ्ना ६ बुँदे मागसहितको मस्यौदा (ड्राफ्ट) बुझाइसकेको मिटरब्याजपीडितको आन्दोलनमा सहभागी संयुक्त जनअधिकार मोर्चा नेपालका संयोजक निर्ग नवीनले जानकारी दिए । 'अब केहीबेरमा निर्णयक वार्ता हुन्छ । यदि वार्ता सफल भएन भने हाम्रो यात्राअघि बढछ,' उनले भने, 'हामीले हाम्रो तर्फबाट ६ बुँदे मागसहितको ड्राफ गृहमन्त्री समक्ष बुझाइसकेका छौँ । अब निर्णयक वार्ताको प्रतीक्षामा बसेका छौँ ।' 

​दुई दिनदेखि निजगढमै रोकिए पीडितहरु

​पीडितहरु न्यायका लागि भन्दै गत असार २५ गते जनकपुरबाट पैदलयात्रा सुरु गरी काठमाडौंका लागि हिँडेका थिए । उनीहरु दुई दिनदेखि निजगढमा रोकिएका छन् । गृहमन्त्री गुरुङसँग निजगढमै वार्ता हुने तय भएपछि उनीहरुले  पैदल यात्रा स्थगित गरेर गृहमन्त्रीलाई पर्खिएका हुन् ।

​पीडितहरुले ६ बुँदे माग अघि सारेपछि मंगलबारदेखि नै निजगढस्थित उद्योग वाणिज्य संघको हलमा वार्ता सुरु भएको थियो । मंगलबार राति अबेरसम्म भएका छलफलमा सहमति जुट्न नसकेपछि बुधबार मध्याह्न १२ बजेदेखि पुनः वार्ता बस्ने तय भएको थियो । तर गृहमन्त्री गुरुङ सिमरामा भेटघाट र केही क्षेत्रको अनुगमनपछि पर्सा निकुञ्जस्थित मन्दिर दर्शन गर्न गएका थिए । यहिबीच पीडित अगुवाहरु भने आन्तरिक छलफलमा जुटेका थिए । 

​गृहमन्त्रीको पर्खाइमा पीडित

​साँझसम्म वार्तास्थलमा प्रतीक्षामा बसिरहेका छन् । ​लामो दूरी पैदल हिँडेर कष्टपूर्ण रुपमा न्याय माग्न निस्किएका पीडितहरु वार्ता सफल हुने आशामा निजगढमै रोकिएका हुन् । उनीहरुले वार्तालाई तत्काल निष्कर्षमा पुर्‍याएर सरकारले आफ्ना मागहरु सम्बोधन गरिदिन आग्रह गरिरहेका छन् । वर्ता सफल भए यहीँबाट पैदल मार्चलाई विश्राम दिने र बिफल भए हिँड्ने तयारी समेत भइरहेको संयोजक नवीनले बताए ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully