होल्डिङ सेन्टरका विद्यार्थीलाई स्कुल बस व्यवस्था गरेका छौं : शिक्षामन्त्री पोखरेल

शिक्षा मन्त्रालयकाअनुसार खरिपाटीस्थित होल्डिङ सेन्टरमा २१ र बोडेमा १८ जना विद्यार्थी रहेका छन् ।

असार ३०, २०८३

कान्तिपुर संवाददाता

We have arranged school buses for students of holding centers: Education Minister Pokharel

काठमाडौं — सरकारले सुकुमवासी होल्डिङ सेन्टरमा रहेका विद्यार्थीलाई विद्यालय आउजाउ गर्न स्कुल बसको व्यवस्था गरेको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन् ।

पत्रकारहरूसँग मंगलबार कुरा गर्दै उनले भक्तपुरको खरिपाटी र बोडेमा रहेका होल्डिङ सेन्टरका बालबाबालिकालाई स्कुल जान, आउन दुई वटा बसको व्यवस्था गरिएको बताए ।  ‘सुकुमबासीहरूको दीर्घकालिन समस्या समाधान नभएसम्म स्कुल बसबाट विद्यालय पुर्‍याउने र ल्याउने काम हुन्छ,’ उनले भने । कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि सुकुमवासी परिवारलाई बोडेमा सारिएको छ । कीर्तिपुरमा भर्ना भएका विद्यार्थीहरू अब कसरी स्कुल आउजाउ गर्छन् भन्ने प्रश्नमा उनले स्कुल बसको व्यवस्था गरिएको जनाएका हुन् । विद्यालय परिवर्तन गर्न चाहने विद्यार्थीलाई विकल्पबारे पनि छलफल भइरहेको उनले जनाए । तर अधिकांश विद्यार्थीले त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविमा अध्ययन गर्ने इच्छा देखाएका थिए ।

शिक्षा मन्त्रालयकाअनुसार खरिपाटीमा २१ र बोडेमा १८ जना विद्यार्थी रहेका छन् । शिक्षामन्त्री पोखरेलले उनीहरूलाई भेटेर सोमबार राहत तथा शैक्षिक सामग्री प्रदान गरेका थिए । विद्यार्थीका लागि झोला, कापी, कलम तथा खेलकुद सामग्रीहरू वितरण गरिएको उनको सचिवालयले जनाएको छ ।

बालबालबालिका र उनीहरूको अभिभावकलाई भेटेर मन्त्री पोखरेलले सरकार शिक्षाको अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका थिए । त्यसअघि गृहमन्त्री सुधन गुरुङ नेतृत्वमा ६ जना मन्त्रीको टोलीले सामुहिक रुपमा सुकुमवासीहरूलाई भेटेर होल्डिङ सेन्टर अनुगमन गरेको थियो ।

कान्तिपुर

Link copied successfully