मिडियाका गेटमा गाडी पार्किङ : त्रसित बनाउने उद्देश्यबाट प्रेरित शंकास्पद र रहस्यमय घटना भन्दै रास्वपाद्वारा भर्त्सना

कान्तिपुरको गेट अगाडि राखिएको गाडीका प्रयोगकर्ता रवि जैसवाल, उनी रास्वपाले केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागमा मनोनीत गरेका सदस्य हुन्।

असार ३०, २०८३

गौरव पोखरेल, जयसिंह महरा

Parking of vehicles at the media gate: A suspicious and mysterious incident inspired by the intention to create panic, condemned by the Rashtriya Swayamsevak Sangh (RSS).

काठमाडौँ — कान्तिपुर पब्लिकेशन्स्, अनलाइनखबर डटकम र हिमालय टेलिभिजनको गेटमा सोमबार अन्य सवारीसाधन आवातजावत गर्न नमिल्ने गरी शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाको सत्तारूढ रास्वपालगायत राजनीतिक दल तथा नागरिक समाजले भर्त्सना गरेका छन् । यी मिडियाले गणेश नेपालीको आत्मदाहको विषय काठमाडौं महानगरको प्रहरी बल, ट्राफिक प्रहरीको व्यवहार, जरिवानाका विषयमा प्रश्न उठाउँदै समाचार लेखेका थिए । 

कान्तिपुर पब्लिकेशन्स् अगाडि राखिएको गाडी रास्वपा कार्यकर्ताले चढ्ने गरेको खुलेको छ । सत्तारूढ दल रास्वपाले मिडियालाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित शंकास्पद र रहस्यमय घटना भन्दै भर्त्सना गरेको छ । नेपाल पत्रकार महासंघ र नेकपा एमालेले पनि विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन् । 

अनलाइनखबरमा बा१२च ८५४५, हिमालय टेलिभिजनमा बा२च १२५५ र कान्तिपुर मिडिया ग्रुपको गेटमा बा प्रदेश–०१ ०३४ च ८४८० नम्बरको गाडी राखेर चालक भागेका थिए । मिडियाबाहेक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगन थापा र अनामनगरस्थित भाटभटेनी अगाडिसमेत गाडी अलपत्र छाडेर चालकहरू भागेको प्रहरीले जनाएको छ । कान्तिपुरमा पार्क गरिएको गाडी धनी रवि जैसवाल रहेको खुलेको छ । उनी रास्वपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका सदस्य हुन् ।

रास्वपाका तर्फबाट महामन्त्री विपिन आचार्यले स्वतन्त्र र भयरहित पत्रकारिता नै लोकतन्त्रको प्राण वायु रहेको र यसको रक्षार्थ पार्टी सदैव कटिबद्ध रहने भन्दै विज्ञप्ति जारी गरेका हुन् । ‘राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चारमाध्यम र सञ्चारकर्मीले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताका ठाडो उल्लंघन हुन्,’ विज्ञप्तिमा भनिएको छ । 

‘एक लोकतान्त्रिक, जिम्मेवार र विधिको शासनमा विश्वास गर्ने राजनीतिक दलको हैसियतले रास्वपा सदैव पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

बिहान ७ बजेतिर मास्क र कालो चस्मा लगाएका व्यक्तिले गाडी पार्क गरी भागेको प्रत्यक्षदर्शीले बताएका छन् । तीनकुनेस्थित कान्तिपुरका सुरक्षागार्ड रमेश थुयाजुका अनुसार बिहान ७ बजेतिर कान्तिपुरमा एक जना दाइलाई भेट्न आएको भन्दै बा प्रदेश–०१ ०३४ च ८४८० नम्बरको गाडी चालकले पार्क गरेका थिए । ‘कान्तिपुरमा दाइलाई भेट्न आएको भन्नुभयो, मैले साइडमा राख्नुस्, यहाँ राख्न मिल्दैन भनें,’ उनले भने, ‘नराख्नु भन्दाभन्दै जबर्जस्ती गाडी राखेर भागे ।’ ती व्यक्ति फोनमा कोहीसँग बोल्दै ओर्लिंदै भागेको उनले बताए । ‘ती व्यक्ति एकैछिनमा दौडिएर मेन रोडतिर जान थालेपछि म पछि–पछि गएँ,’ उनले थपे, ‘मुख्य रोडसम्म पुगेपछि चाहिँ गेट खाली छाड्न नहुने भएकाले म फर्किंएँ ।’

कान्तिपुरको गेटअघि पार्क गरिएको गाडी पायोनियर मोटो कर्प प्रालिका नाममा दर्ता रहेको खुलेको छ । यातायात व्यवस्था विभागको विवरणमा उक्त गाडीमा सानिमा बैंकको नाम पनि उल्लेख छ । यो गाडी रवि जैसवालले चलाउँदै आएका थिए । गाडी प्रयोगकर्ता जैसवाललाई रास्वपामा काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर वालेन्द्र शाह समूहको एकीकरण भएपछि रास्वपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागमा मनोनीत गरिएको खुलेको छ । उनले कान्तिपुर अगाडि पार्क गरेको गाडी आफ्नो रहेको बताएका छन् । ‘त्यो गाडी मेरो हो, मेरो साथीले हिजो लिएर गएको थियो,’ उनले कान्तिपुरको सम्पर्कमा भने, ‘मेरो साथीलाई फोन गर्दा स्वीच अफ छ, गाडी लिन आउन सक्दिनँ ।’

रौतहटको गरुडा नगरपालिका–४ का जैसवालको चन्द्रनिगाहपुर र गरुडामा मेसिनरीको व्यापार छ । उनले २०७९ को आमनिर्वाचनमा मधेश प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर, उनी पराजित भए । प्रहरीले गाडी धनीका विषयमा अनुसन्धान जारी रहेको बताएको छ । 

रास्वपाले भने यो घटनाको अनुसन्धान गरी कानुनबमोजिम गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ । ‘प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता र अन्य जुन कुनै कदमहरूको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्दछ । यी घटनाहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सम्पूर्ण सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र यस्ता शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि उनीहरूको तत्काल पहिचान गरी कानुनबमोजिम गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण सञ्चार जगत्लाई कुनै पनि दबाब र त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिताको आफ्नो व्यावसायिक धर्म निर्वाह गरिरहन अपिल गर्दै, सञ्चारकर्मी र सञ्चारगृहहरूको सुरक्षा तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा सदैव खडा रहने दृढ प्रतिबद्धता व्यक्त गर्दछौं ।’

तर प्रहरीले कुनै पनि अनुसन्धान नगरी गाडीहरू छाडेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफलेले गाडीसँग सम्बन्धित व्यक्ति सम्पर्कमा आएपछि सोमबार नै कानुनबमोजिम जरिवानाको चिट काटेर गाडी छाडिएको बताए । उनका अनुसार अवस्थाअनुसार ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना गरिएको छ । ‘बाहिर चर्चा भएका पाँच वटा गाडीसहित अन्य स्थानमा अनधिकृत रूपमा पार्किङ गरिएका १४ वटा गाडीलाई जरिवाना गरेर छाडेका छौं,’ उनले कान्तिपुरसँग भने । गाडीहरू कुन नियतले पार्किङ गरिएका थिए भन्ने अनुसन्धानकै विषय भए पनि आफूहरूले हाल कानुनबमोजिम कारबाही गरेको उनले बताए ।

गाडी पार्क गरिएका कारण कान्तिपुर मिडिया ग्रुपमा करिब ५ घण्टा कार्यालयभित्र सवारी राख्न बाधा पुगेको थियो । रिपोर्टिङमा पत्रकारहरू गाडी लिएर जान सकेनन् । ‘टेलिभिजनका पत्रकारहरू रिपोर्टिङमा जानै सकेनन्,’ कान्तिपुर टेलिभिजनका समाचार संयोजक रामकृष्ण भण्डारीले भने, ‘बिहान क्यामरासहित समाचार संकलनका लागि जानुपर्ने पत्रकारहरू गाडी निस्किन नसक्ने भएपछि कार्यालयमै अल्झिए । मोटरसाइकल नै लिएर निस्किन पनि साथीहरूलाई अप्ठेरो भयो ।’ 

करिब साढे १२ बजेतिर कान्तिपुर पब्लिकेशन्स्ले क्रेन बोलाएर गाडी हटाएको थियो । रास्वपा महामन्त्री आचार्यलाई कान्तिपुर अगाडि राखिएको गाडी प्रयोगकर्ता रास्वपा कार्यकर्ता रहेछन्, यसमा पार्टीले कस्तो अनुसन्धान गर्छ र कस्तो कारबाही गर्छ ? भन्ने प्रश्न गर्दा ‘हामीले प्रेस रिलिज जारी गरेर कसैले गलत काम गरेको छ भने सरकारलाई अनुसन्धान र कारबाही गर्न भनेका छौं । पार्टीले ती कुराहरूलाई जसले गरेको भए पनि सही होइनन् भनेर भर्त्सना गरेको छ,’ भनेका छन् । 

उनले कान्तिपुरसँग भने, ‘हामीले पार्टीभन्दा एक कदम अगाडि बढेर सरकारलाई नै भनिसकेको स्थिति हो, पार्टीले के गर्छ भन्दा पनि यस्ता कुरामा पार्टीभन्दा पनि सरकारी संयन्त्रले गर्ने हो ।’ हिमालय टीभी र अनलाइनखबर डटकमका ग्रुप एडिटर उमेश चौहानले सञ्चार गृहमा कसले गाडी राख्यो भन्नेमा गम्भीर अनुसन्धान हुनुपर्ने बताए । ‘तर किन यसो गरियो भन्ने प्रस्ट छ, तिमीहरूले प्रश्न उठाइरह्यौ भने जे पनि हुन सक्छ भन्ने चेतावनी दिन यो गरिएको हो भन्ने स्पष्ट देखिन्छ,’ उनले भने, ‘हामीले राज्य छ भन्ने हो । तर बाहिर सडकमा समेत यातायात अवरोध हुने अवस्था आउँदा पनि प्रहरीले सात घण्टासम्म आलटाल गर्नु अनौठो छ ।’ 

गणेश नेपालीको आत्मदाह केवल ट्राफिक नियमसँग मात्र सीमित विषय नभएको भन्दै उनले भने, ‘नागरिकले नियम–कानुन पालना गर्नुपर्छ तर नाजुक नागरिकलाई राज्यले भरोसा पनि दिनुपर्छ । हिजो प्रेम आचार्य र आज गणेश नेपालीजस्ता युवालाई राज्यले किन भरोसा दिन सकेन ? कहाँ चुक्यो ? भनेर मिडियाले प्रश्न उठाएको हो । मिडिया र नागरिकले उठाएका प्रश्नमा राज्य रेस्पोन्सिभ हुनुपर्छ, रियाक्टिभ होइन ।’

अनलाइनखबरको गेटअघि राखिएको गाडी सुनील पौडेलका नाममा दर्ता रहेको छ । उनले काठमाडौंको गोकर्णेश्वरमा शंखडोल आई क्लिनिक एन्ड अप्टिकल हाउस नामक आँखा क्लिनिक सञ्चालन गर्दै आएका छन् । हिमालय टेलिभिजनको गेटअघि पार्क गरिएको गाडी भने ड्राइभ लाइन अटो मोबाइल प्रालिका नाममा दर्ता रहेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति गगन थापाको घरअगाडि पार्क गरिएको बागमती प्रदेश बीएससी ९५७५ नम्बरको गाडी बाबा विश्वकर्मा ट्रेडर्सका नाममा दर्ता रहेको पाइएको छ । भाटभटेनीमा पार्क गरिएको गाडी कसका नाममा दर्ता छ भन्ने अझै खुलेको छैन । 

ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले हालसम्म पाँच वटा गाडी ट्राफिक प्रहरी कार्यालयमा ल्याइएको र ती गाडीका वास्तविक धनी को हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको बताए । उनले भने, ‘गाडीहरू आएका छन्, ती कसका हुन् भन्ने विषयमा यातायात व्यवस्था विभागसँग समन्वय गरेर खोजी गरिरहेका छौं ।’

नेपाल पत्रकार महासंघले सञ्चारमाध्यमका कार्यालयको गेटमै शंकास्पद रूपमा गाडी पार्किङ गरी त्यहाँ कार्यरत पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध र आतंक सिर्जना गरिएको भन्दै विरोध जनाएको छ । महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महासंघ तत्काल गाडीको अवरोध हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा गर्न सम्बद्ध निकायसँग जोडदार माग गर्दछ ।’ महासंघले घटनालाई निन्दनीय र रहस्यमय भन्दै तत्काल छानबिन गर्न र दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

नेकपा एमालेले मिडियाको मूल गेटमा गाडी राखिएकामा आपत्ति जनाउँदै विज्ञप्ति निकालेको छ । एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले सोमबार विज्ञप्ति जारी गरी मिडिया हाउसअघि शंकास्पद गाडी राखेर आतंकित बनाएको जनाएका छन् । ‘विभिन्न सञ्चारमाध्यमका कार्यालयको मूल गेटमै शंकास्पद रूपमा गाडीहरू पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीलाई काममा जान अवरोध सिर्जना गरिएको र आतंकित पारिएको छ,’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘बिहानैदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन्स्, नयाँ बानेश्वरमा रहेको अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमा सवारीसाधन तेर्स्याएर पत्रकारहरूको आवतजावत ठप्प पारिएको यो कार्य लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार हो ।’

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले यस घटनामा राज्यपक्ष विशेष उत्तरदायी बन्नुपर्ने र सत्यतथ्य छिटो उजागर गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले भनेका छन्, ‘यदि यो सरकार पक्षबाट गरिएको हो भने त्यो सरासर लोकतन्त्रको घाँटी रेट्ने दुष्प्रयत्न हो, जसलाई सबै दल र जनसमुदायले एकताबद्ध भएर सशक्त प्रतिवाद गर्नुपर्छ ।’ 

देशले लोकतान्त्रिक स्थिरता, सुशासन र समृद्धि खोजिरहेका बेला पुनः राजनीतिक द्वन्द्व र अस्थिरताका बादल मडारिन थाल्नु जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र, देशको स्वाधीनता र जनताको सुख समृद्धिका लागि शुभसंकेत नरहेको उनको भनाइ छ ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully