नवनियुक्त अध्यक्ष महेश्वरभक्त श्रेष्ठ नेपालमा नागरिक उड्डयन, पर्यटन व्यवस्थापन र एयरलाइन सञ्चालनका क्षेत्रमा पाँच दशकभन्दा लामो अनुभव भएका विज्ञ मानिन्छन् ।
काठमाडौँ — सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारी वरिष्ठ उड्डयन तथा पर्यटन विज्ञ महेश्वरभक्त श्रेष्ठलाई दिएको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले श्रेष्ठलाई कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारीसहित नियुक्त गरिएको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् । श्रेष्ठ नेपालमा नागरिक उड्डयन, पर्यटन व्यवस्थापन र एयरलाइन सञ्चालनका क्षेत्रमा पाँच दशकभन्दा लामो अनुभव भएका विज्ञ मानिन्छन् । उनी २०४९ सालसम्म निगममा कर्पोरेट निर्देशकका रूपमा कार्यरत थिए । निगममा उनले करिब २५ वर्ष विभिन्न जिम्मेवारी सम्हालेका थिए । उनले १९७५ देखि १९८५ सम्म कर्पोरेट योजना प्रमुख तथा १९८५ देखि १९९२ सम्म कर्पोरेट, मार्केटिङ तथा बिक्री र कमर्सियल विभागको निर्देशकका रूपमा नेतृत्व गरेका थिए ।
श्रेष्ठले बेलायतको युनिभर्सिटी अफ वेस्टमिन्स्टरबाट सन् १९७९ मा एयर ट्रान्सपोर्टमा विशेषज्ञतासहित ट्रान्सपोर्ट एन्ड डेभलपमेन्टमा स्नातकोत्तर डिप्लोमा प्रथम श्रेणी प्रथम स्थानमा उत्तीर्ण गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर पनि गरेका छन् । साथै क्यानडाको म्याकगिल विश्वविद्यालय, भारतको एडमिनिस्ट्रेटिभ स्टाफ कलेज, अमेरिकाको म्याकडोनेल डगलसलगायत प्रतिष्ठित संस्थाबाट उड्डयन व्यवस्थापन, कर्पोरेट योजना तथा व्यवस्थापनसम्बन्धी उच्चस्तरीय तालिम लिएका छन् ।
उनी नेपाल तथा दक्षिण एसियामा एयरलाइन, उड्डयन र पर्यटन व्यवस्थापनका वरिष्ठ परामर्शदाताका रूपमा पनि परिचित छन् । सन् १९८५ यता उनले नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड, एसियाली विकास बैंक, राष्ट्रिय योजना आयोग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल वायुसेवा निगमलगायतका संस्थाका लागि नीति निर्माण, रणनीतिक योजना, विमान बेडा (फ्लिट) योजना, पर्यटन विकास तथा संस्थागत सुधारका दर्जनौं परामर्श परियोजनामा काम गरेका छन् ।
निगमको १० वर्षे फ्लिट योजना तयार पार्ने, बोइङ–७५७ खरिद मूल्यांकन समितिको सदस्यसचिवको जिम्मेवारी निर्वाह गर्ने, नेपाल पर्यटन वर्ष २०११ को रणनीतिक योजना तयार गर्ने तथा राष्ट्रिय नागरिक उड्डयन नीति पुनरावलोकनमा समेत उनको भूमिका थियो ।
श्रेष्ठ शैक्षिक तथा साहित्यिक क्षेत्रमा पनि सक्रिय छन् । उनले सन् २००० मा प्रकाशित 'नेप्लिज एभियसन एन्ड टूरिजम' पुस्तक लेखेका छन्, जुन पूर्वाञ्चल विश्वविद्यालयको पर्यटन अध्ययनको स्नातकोत्तर तहमा सन्दर्भ पुस्तकका रूपमा प्रयोग हुँदै आएको छ । सन् २०२३ मा प्रकाशित नेपालको पहिलो व्यावसायिक पाइलट क्याप्टेन बबीविक्रम शाहको जीवनीमा आधारित 'अ म्यान विथ अ मिसन : लाइफ एन्ड टाइम्स अफ क्याप्टेन बबीविक्रम शाह' पुस्तकका सहलेखक पनि हुन् उनी ।
श्रेष्ठले नागरिक उड्डयन, पर्यटन, हवाई सेवा व्यवस्थापन, हवाई भाडा निर्धारण, एयर कार्गो, फ्लिट योजना, सार्वजनिक संस्थान व्यवस्थापन तथा पर्यटन विकासका विषयमा चार दशकभन्दा बढी समयदेखि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नल र पत्रिकामा अनुसन्धानमूलक लेख प्रकाशित गर्दै आएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका पूर्वस्वतन्त्र सञ्चालक रहेका उनी सन् १९८० देखि चार्टर्ड इन्स्टिच्युट अफ ट्रान्सपोर्ट, लन्डनका सदस्यसमेत थिए ।
