नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ४ वर्ष र पूर्वगृहमन्त्री खाणलाई २ वर्ष कैद*

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराध अभियोगमा रायमाझी ठगी, संगठित अपराध, राज्यविरूद्धको अपराध र एकीकृत अपराधतर्फ दोषी ठहर भएका थिए ।

असार ३०, २०८३

मातृका दाहाल

Former Deputy Prime Minister Rayamajhi sentenced to 4 years and former Home Minister Khand sentenced to 2 years in fake Bhutanese refugee case*

काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष र पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई २ वर्ष कैद सजाय भएको छ ।*

जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले दुई पूर्वमन्त्री रायमाझी र खाणलाई मंगलबार कैद सजाय सुनाएको हो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराध अभियोगमा रायमाझी ठगी, संगठित अपराध, राज्यविरूद्धको अपराध र एकीकृत अपराधतर्फ दोषी ठहर भएका थिए । यसैगरी खाण ठगी, संगठित अपराध र राज्यविरूद्धको अपराधको मतियारका रूपमा दोषी ठहर भएका थिए । 

अदालतले २३ असारमा रायमाझी र खाणसहित १६ जनालाई दोषी ठहर गरेकामा मंगलबार सजाय निर्धारण गरेको हो । अदालतले पूर्व गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सललाहकार इन्द्रजित राई, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मिया, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल तथा विचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, गोविन्द चौधरी, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झालाई पनि कैद सजाय तोकेको हो । 

अदालतले किर्ते अभियोगमा टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलाई दोषी ठहर गरेको थियो । ठगी तथा संगठित अपराधमा केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे, टोपबहादुर रायमाझीलाई दोषी ठहर गरेको थियो । ठगी तथा संगठित अपराधको मतियारमा बालकृष्ण खाण, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेल दोषी ठहर भएका थिए । राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा केशव दुलाल सानु भण्डारी, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, गोविन्द चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे, टोपबहादुर रायमाझी  दोषी ठहर भएका थिए । राज्यविरुद्धको अपराधको मतियारमा बालकृष्ण खाण, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र ठगी उद्योगमा वेचन झा दोषी ठहर भएका थिए । ठहर भएका १६ जनाविरूद्ध मंगलबार अदालतले कैद सजाय सुनाएको हो ।

सच्याइएको :

  • यसअघि समाचारमा फरक-फरक कसुरको सजाय जोडेर उल्लेख गरिएकोमा उक्त तथ्याकं गलत भएकाले सच्याइएको छ । 

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully