मेकानिकल तथा एरोस्पेस इन्जिनियरिङ विभागका प्रमुख उपप्राध्यापक डा. सुदीप भट्टराईका अनुसार यसवर्ष छनोट भएका विद्यार्थीहरू हाल बेंगलुरुमा प्रारम्भिक अभिमुखीकरण तथा तालिममा सहभागी छन्।
काठमाडौँ — विश्वकै अग्रणी विमान तथा एरोस्पेस कम्पनी एयरबसमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका २१ जना विद्यार्थी छनोट भएर भारतको बेंगलुरुस्थित केन्द्रबाट आफ्नो अन्तर्राष्ट्रिय करिअर सुरु गरेका छन्।
मेकानिकल तथा एरोस्पेस इन्जिनियरिङ विभागका प्रमुख उपप्राध्यापक डा. सुदीप भट्टराईका अनुसार यसवर्ष छनोट भएका विद्यार्थीहरू हाल बेंगलुरुमा प्रारम्भिक अभिमुखीकरण तथा तालिममा सहभागी छन् । एयरबसमा एसिया क्षेत्रका नयाँ इन्जिनियरहरूको प्रवेश बिन्दु बेंगलुरु रहेकाले नेपाली विद्यार्थीहरू पनि त्यहीँबाट छानिएपछि आफ्नो करिअर सुरु गर्ने गरेका छन् ।
'यसपालि २१ जना विद्यार्थी छनोट भएका छन्। उनीहरू बेंगलुरु पुगेर काम सुरु गरिसकेका छन्,' उनले मंगलबार कान्तिपुरसँग भने, 'यसअघि पनि हाम्रो कार्यक्रमबाट विद्यार्थीहरू नियमित रूपमा एयरबसमा गइरहेका छन्।'
उनका अनुसार पुल्चोक क्याम्पसले सन् २०१८ मा नेपालमै पहिलो पटक ब्याचलर इन एरोस्पेस इन्जिनियरिङ कार्यक्रम सुरु गरेको थियो। कोभिड–१९ महामारीका कारण पहिलो ब्याचको अध्ययन केही ढिलो भए पनि सन् २०२३ मा पहिलो समूह स्नातक भएको थियो। त्यसयता एयरबसले नेपाली एरोस्पेस इन्जिनियरहरूलाई नियमित रूपमा भर्ती गर्दै आएको छ।
पहिलो ब्याचका स्नातकहरू सन् २०२४ मा एयरबस पुगेका थिए। त्यसबेला ६ जना विद्यार्थी छनोट भएका थिए। त्यसपछि सन् २०२५ मा थप १७ जना एयरबस पुगे। यसवर्ष २१ जना छनोट भएसँगै तीन वर्षको अवधिमा करिब ४४ जना नेपाली विद्यार्थी एयरबसमा पुगेका छन्।
भट्टराईका अनुसार सुरुमा एयरबसले विभागसँग प्रत्यक्ष समन्वय गरेर विद्यार्थी छनोट गर्ने गरेको थियो। अहिले भने प्रक्रिया थप व्यवस्थित र संस्थागत बन्दै गएको छ।
छनोट भएका विद्यार्थीलाई एयरबसले प्रारम्भिक चरणमा बेंगलुरुमा तालिम दिन्छ। त्यसक्रममा यात्रा, बसोबास तथा प्रारम्भिक व्यवस्थापन कम्पनीले नै गर्ने व्यवस्था रहेको उनले बताए। त्यसपछि उनीहरू कम्पनीको आवश्यकता अनुसार विभिन्न परियोजना तथा देशमा खटिन सक्छन्।
एरोस्पेस इन्जिनियरिङ कार्यक्रमप्रति विद्यार्थीको आकर्षण पनि बढ्दै गएको विभागको भनाइ छ। हरेक वर्ष ४८ विद्यार्थी भर्ना लिने कार्यक्रमअन्तर्गत १२ जनाले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाउँछन् भने ३६ जना शुल्क तिरेर अध्ययन गर्छन्। हाल यो कार्यक्रममा करिब २५० विद्यार्थी अध्ययनरत छन्। कोभिडका कारण दुई ब्याच एकै वर्ष सञ्चालन गर्नुपरेकाले अहिले पाँचवटा ब्याच एकसाथ अध्ययन गरिरहेका छन्।
विद्यार्थी अन्तर्राष्ट्रिय कम्पनीमा पुग्न थाले पनि विभागमा दक्ष शिक्षकको अभाव भने अझै चुनौतीकै रूपमा रहेको भट्टराईले बताए। विभागमा चार स्थायी दरबन्दी रहे पनि अहिले एक जना मात्रै स्थायी शिक्षक कार्यरत छन्। अन्य शिक्षक करारमा कार्यरत छन् भने नेपाल वायुसेवा निगम, बुद्ध एयर, हिमालय एयरलाइन्स तथा नेपाल नागरिक उड्डयन प्राधिकरण का वर्तमान तथा अवकाशप्राप्त विज्ञहरूले आंशिक समय अध्यापन गराउँदै आएका छन्।
'विद्यार्थीको क्षमता अन्तर्राष्ट्रिय कम्पनीले स्वीकार गर्न थालेका छन्,' उनले भने, 'तर त्यसलाई दीर्घकालीन रूपमा निरन्तरता दिन जनशक्ति, अनुसन्धान र पूर्वाधारमा थप लगानी आवश्यक छ।'
यसैबीच, गत जेठ २८ गते एयरबस र त्रिभुवन विश्वविद्यालयबीच नेपालमा एरोस्पेस जनशक्ति विकासका लागि दीर्घकालीन सहकार्य गर्ने समझदारी (एमओयू) भएको थियो। एयरबस साउथ एसियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक युर्गेन वेस्टरमायर र त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा. डा. सुशीलबहादुर बज्राचार्यले हस्ताक्षर गरेको उक्त समझदारीले एरोस्पेस तथा उड्डयन शिक्षाको पाठ्यक्रम विकास, अनुसन्धान, तालिम, डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता (एआई), मेसिन लर्निङ, साइबर सुरक्षा, उद्योग–विश्वविद्यालय सहकार्य, इन्टर्नसिप तथा विद्यार्थी प्लेसमेन्टका क्षेत्रमा सहकार्य गर्ने आधार तय गरेको छ।
भट्टराईका अनुसार एयरबसले नेपाली विद्यार्थी भर्ती यसअघि नै सुरु गरिसकेको भए पनि एमओयूले त्यसलाई संस्थागत रूप दिएको छ। 'पहिला व्यक्तिगत तहमा समन्वय हुन्थ्यो,' उनले भने, 'अब विश्वविद्यालय र एयरबसबीच औपचारिक सहकार्य भएपछि पाठ्यक्रम, क्षमता विकास, संयुक्त तालिम र उद्योगसँगको सहकार्यसमेत दीर्घकालीन रूपमा अघि बढ्ने आधार बनेको छ।'
