मन्त्री खडकराज पौडेलका अनुसार बोर्ड सदस्यका रूपमा डा. सोविता श्रेष्ठ ढकाल , पेम्बा शेर्पा, खुमबहादुर सुवेदी, सन्तोष पोखरेल र सृजना केसी नियुक्त भएका छन् ।
काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्डको सदस्यमा मंगलबार पाँच जना नियुक्त गरेको छ । मन्त्री खडकराज पौडेलका अनुसार बोर्ड सदस्यका रूपमा डा. सोविता श्रेष्ठ ढकाल (आरोग्य पर्यटन), पेम्बा शेर्पा (एटके एक्सपिडिसन), खुमबहादुर सुवेदी (टानका पूर्वअध्यक्ष), सन्तोष पोखरेल (पोखराका होटल व्यवसायी) र सृजना केसी (आईटी तथा वेलनेस पर्यटन विज्ञ) नियुक्त भएका छन् ।
मन्त्रालयले गठन गरेको सिफारिस समितिले ११ सयभन्दा बढी आवेदनमध्ये मूल्यांकन गरी १० जनाको नाम सिफारिस गरेको थियो । सोही सूचीबाट मन्त्रीस्तरीय निर्णयमार्फत पाँच सदस्य नियुक्त गरिएको हो । नवनियुक्त सदस्यहरूको कार्यकाल तीन वर्षको हुनेछ ।
सदस्य छनोट सिफारिस समितिका संयोजक पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने रहेका थिए । समितिका सदस्यमा अरविन्दकुमार झा र पूर्णकुमार शेर्पा थिए ।
पर्यटन बोर्डको संरचनाअनुसार बोर्डमा निजी क्षेत्रका ५ सदस्यबाहेक ५ पदेन सरकारी सदस्य पनि रहने व्यवस्था छ । पर्यटन मन्त्रालयका सचिव बोर्डका अध्यक्ष रहनेछन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) सदस्यसचिव हुने व्यवस्था छ । हाल सीईओ पद रिक्त रहेकाले अब त्यसको छनोट प्रक्रिया अघि बढाइने मन्त्री पौडेलले जानकारी दिए ।
