काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेका अनुसार गाडीधनीलाई अवस्थाअनुसार ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना गरिएको छ ।
काठमाडौँ — कान्तिपुर पब्लिकेसन, अनलाइनखबर र हिमालय टेलिभिजनसहित विभिन्न सञ्चारगृहको गेट अगाडि सोमबार शंकास्पद रूपमा पार्क गरिएका गाडीलाई उपत्यका ट्राफिक प्रहरीले अनधिकृत पार्किङको कसुरमा जरिवाना गरेर छाडेको छ । सम्बन्धित गाडीका धनीले सम्पर्क गरेपछि चिट काटेर छाडिएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेले गाडीसँग सम्बन्धित व्यक्ति सम्पर्कमा आएपछि सोमबार कानुनबमोजिम जरिवानाको चिट काटेर गाडी छाडिएको कान्तिपुरसँग पुष्टि गरे । 'यस किसिमको कारबाही पहिले पनि गरिरहेका हुन्थ्यौं । यो पटकचाहिँ धेरै चर्चा भएपछि सामाजिक सञ्जालमा पनि राखेका छौं,' उनले भने ।
काफ्लेका अनुसार अवस्थाअनुसार गाडीधनीलाई ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना गरिएको छ । 'बाहिर चर्चा भएका पाँचवटा गाडीसहित अन्य स्थानमा अनधिकृत रूपमा पार्किङ गरिएका १४ वटा गाडीलाई पनि जरिवाना गरेर छाडेका छौं,' उनले भने ।
पार्किङको कसुरमा ट्राफिक प्रहरीले कानुनी कारबाही गरिसकेको भए पनि सञ्चारगृहको गेट नै छेक्ने गरी गाडी राखिनुको उद्देश्यचाहिँ छुट्टै अनुसन्धानको विषय भएको उनले बताए । 'गाडीहरू कुन नियतले पार्किङ गरिएका थिए भन्ने अनुसन्धानकै विषय हो । हाम्रो तर्फबाट अहिले कानुनबमोजिम कारबाही भएको छ,' काफ्लेले भने ।
प्रहरीले सुरुमा गाडीमा कुनै विस्फोटक पदार्थ वा शंकास्पद सामग्री राखिएको हुन सक्ने आशंकाका कारण तत्काल हटाउन नसकिएको पनि उनले बताए ।
'बिहान ती गाडीमा विस्फोटक पदार्थ वा अन्य कुनै शंकास्पद वस्तु राखिएको छ कि भन्ने आशंकाले केही ढिलाइ भएको थियो । पहिले सिभिल प्रहरीले गएर जाँच गरेको थियो,' उनले भने ।
सोमबार बिहान कान्तिपुर पब्लिकेसन, अनलाइनखबर र हिमालय टेलिभिजनका गेट अगाडि सवारी आवतजावत नै अवरुद्ध हुने गरी गाडी पार्क गरेर चालकहरू हिँडेका थिए । घटनाका कारण सञ्चारगृहका पत्रकार तथा कर्मचारीलाई कार्यालयबाट बाहिर निस्कन र रिपोर्टिङमा जानसमेत कठिनाइ भएको थियो । केही सञ्चारगृहमा करिब पाँच घण्टासम्म सवारीसाधन आवतजावत प्रभावित भएको थियो ।
यस घटनालाई लिएर नेपाल पत्रकार महासंघले सञ्चारकर्मीलाई त्रसित बनाउने र स्वतन्त्र पत्रकारितामा अवरोध सिर्जना गर्ने प्रयास भएको भन्दै तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न माग गरेको छ । प्रहरीले भने पार्किङ कसुरमा कारबाही गरिसके पनि घटनाको उद्देश्य र संलग्न व्यक्तिहरूको भूमिकाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।
