मन्त्रिपरिषद्को यही असार २४ को निर्णयअनुसार उनलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
काठमाडौँ — प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को यही असार २४ को निर्णयअनुसार उनलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
श्रेष्ठ पालका एक स्थापित डिजिटल पत्रकार, सम्पादक, ब्लगर र तथ्य-जाँचकर्ता (फ्याक्ट चेकर) हुन् । उनले २१ वर्षअघि सुरु गरेको ‘माइसंसार’ ब्लग अझै पनि राजनीतिक, सामाजिक र समसामयिक विषयमा स्वतन्त्र विचार राख्ने थलोका रूपमा चलाइरहेका छन् । ब्लगिङमा उनी 'सालोक्य' उपनामले चर्चित छन् ।
नियुक्तपत्र प्रदान गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भई जिम्मेवारीमा आएका दुवै संस्थाका अध्यक्षप्रति उच्च अपेक्षा रहेको बताए । सिफारिस समितिले न्यायपूर्ण, निष्पक्ष र परिणाममुखी ढंगले जिम्मेवारी निर्वाह गर्न सक्ने विश्वासका आधारमा उनीहरूलाई छनोट गरेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले नियामक निकायहरूले आफ्नो भूमिकालाई गम्भीरतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिएको मन्त्रालयले जनाएको छ ।
मन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र प्रभावकारी बनाउन प्रेस काउन्सिलको भूमिका महत्त्वपूर्ण रहने बताएका छन् । वर्तमान समयमा गलत सूचना (मिसइन्फरमेसन) र दुष्प्रचार (डिसइन्फरमेसन) सञ्चार क्षेत्रका प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै त्यसको पहिचान गरी समाधानमुखी ढंगले अघि बढ्नुपर्ने आवश्यकता रहेको औंल्याए ।
सञ्चार क्षेत्रलाई बलियो बनाउन सकिए त्यसबाट सबैभन्दा बढी लाभ सञ्चार जगत्ले नै लिने उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले त्यसका लागि काउन्सिलले आवश्यक सकारात्मक हस्तक्षेप गर्नुपर्ने बताए ।
