सञ्चारगृहका गेटमा गाडी पार्किङबारे बाबुराम भट्टराईले भने : लोकतन्त्रको घाँटी रेट्ने दुस्प्रयत्न

भट्टराईले उक्त घटनाको गहिरो छानबिन गरी वास्तविकता बाहिर ल्याउनुपर्ने बताएका छन् ।

असार २९, २०८३

कान्तिपुर संवाददाता

Baburam Bhattarai said about parking vehicles at the gate of the media house: An evil attempt to strangle democracy.

काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रमुख सञ्चारमाध्यमका कार्यालय, प्रमुख प्रतिपक्षी दलका सभापतिको निवास तथा उद्यमी–व्यवसायीका कार्यस्थल अगाडि नियोजित रूपमा गाडीहरु तेर्स्याइएको घटनाको सत्यतथ्य सार्वजनिक गरी आवश्यक प्रतिरोधात्मक कदम चाल्नुपर्ने बताएका छन् ।

भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा पोस्टमार्फत उक्त घटनाको गहिरो छानबिन गरी वास्तविकता बाहिर ल्याउनुपर्ने उल्लेख गरेका हुन् ।

उनले यस घटनालाई लोकतन्त्रको घाँटी रेट्ने दुस्प्रयत्नको रुपमा टिप्पणी गर्दै पोस्टमा लेखेका छन् - 'यदि यो सरकार पक्षबाट गरिएको हो भने त्यो सरासर लोकतन्त्रको घाँटी रेट्ने दुस्प्रयत्न हो, जसलाई सबै दल र जनसमुदायले एकताबद्ध भएर सशक्त प्रतिवाद गर्नुपर्छ । यदि यो नवनिर्वाचित सरकारलाई बदनाम गर्ने, दलहरूबीच दूरी बढाएर धमिलो पानीमा माछा मार्ने कुनै अदृश्य शक्तिको षड्यन्त्रपूर्ण हर्कत हो भने सरकार, प्रतपक्षी दलहरू र आम जनता एकजुट भएर त्यस्तो कुतत्वलाई बेनकाव र परास्त गर्नुपर्छ ।'

घटनाको दोषी जो भए पनि देशले लोकतान्त्रिक स्थीरता, सुशासन र समृद्धि खोजिरहेको बेला देशमा पुनः राजनीतिक द्वन्द र अस्थिरताका बादलहरू मडारिन थाल्नु जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र, देशको स्वाधीनता र जनताको सुखसमृद्धिका लागि शुभसंकेत नहुने उनले बताएका छन् ।

पोस्टको अन्तिममा उनले लेखेका छन् - 'अतः यतिबेला सबै पक्ष गम्भीर र जिम्मेवार बनौं । राज्यपक्ष विशेष उत्तरदायी बनोस् र यस घटनाको सत्यतथ्य छिटो उजागर गरोस् !'

कान्तिपुर

Link copied successfully