'गोदावरी क्षेत्रमा विगतमा पहिरो र अन्य विपद्का कारण १९ जनाले ज्यान गुमाएका थिए । त्यसैले वातावरणीय तथा मानवीय सुरक्षालाई ध्यानमा राखेर भारी उपकरण प्रयोग र रात्रिकालीन उत्खननमा रोक लगाइएको हो,'
ललितपुर — गोदावरी नगरपालिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजनामा प्रयोग भइरहेको राेडालगायतका खानीजन्य प्राकृतिक स्राेत आपूर्तिमा अवरोध नगरेको दाबी गरेको छ । नगरपालिकाले आफूले नियतवश कुनै अवरोध नगरेको दाबी गरेको छ ।
गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले कान्तिपुरसँग नगरपालिकाले व्यवसायीलाई लक्षित गरी कुनै अवरोध सिर्जना नगरेको बताएका हुन् ।
स्थानीय तह, खानी व्यवसायी र राष्ट्रिय गौरवको आयोजनाबीच उत्पन्न विवादको मूल कारण संघीय तथा प्रदेशस्तरको नीतिगत अस्पष्टता रहेको नगरपालिकाको भनाइ छ ।
उनका अनुसार खानी उत्खनन्सम्बन्धी संघीय र प्रादेशिक कानुन तथा कार्यविधि स्पष्ट नहुँदा स्थानीय तह कार्यान्वयनका क्रममा कानुनी अन्योलमा परेको छ ।
उनले नेपालको संविधानको धारा ५७ तथा अनुसूची–५ को क्रमसंख्या २६ अनुसार खानी उत्खनन, नियमन र व्यवस्थापनको अधिकार संघीय सरकारको एकल अधिकार सूचीमा रहेको स्मरण गराउँदै त्यसअनुसारको स्पष्ट संघीय कानुन अझै नआएको बताए ।
'१५ करोड रुपैयाँसम्म लगानी भएका खानी तथा क्रसर उद्योग प्रदेशको कार्यक्षेत्रमा पर्ने भए पनि प्रदेश सरकारले समेत समयमै स्पष्ट ऐन र निर्देशिका जारी गर्न सकेको छैन,' उनले भने, 'त्यसैले स्थानीय तहले आफ्नै ऐन बनाएर काम गर्दा संघीय र प्रादेशिक कानुनसँग बाझिने तथा कानुनी द्विविधा उत्पन्न हुने अवस्था बनेको छ ।'
माथिल्लो तहबाट स्पष्ट र दीर्घकालीन नीति नआउँदा स्थानीय तहका पदाधिकारी र कर्मचारीले कार्यान्वयनका क्रममा निरन्तर कानुनी तथा प्रशासनिक जोखिम व्यहोर्नुपरेको उनको भनाइ छ । 'सुरक्षित ढंगले काम गर्ने वातावरण नहुँदा एक निकायले अर्को निकायलाई दोष दिने अवस्था मात्र सिर्जना भएको छ,' उनले भने ।
खड्काले सरकारले जारी गरेको ढुङ्गा, गिट्टी तथा बालुवा खानी नियमन र व्यवस्थापनसम्बन्धी कार्यविधिलाई थप व्यावहारिक बनाउनुपर्ने आवश्यकता औंल्याए । प्राविधिक प्रतिवेदनले तोकेको सीमाभित्र रहेर खानी सञ्चालन गर्ने स्पष्ट व्यवस्था भए मात्र स्थानीय सरकार र व्यवसायीबीच दोहोरिँदै आएको विवाद अन्त्य हुन सक्ने उनको भनाइ छ ।
व्यवसायीहरूले नगरपालिकाले खानी सञ्चालन रोकेको आरोप लगाए पनि वास्तविकता फरक रहेको उनको दाबी छ । उनका अनुसार बाढी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै १६ असारमा जारी गरिएको सूचनाअनुसार वर्षायामभरि खानी क्षेत्रमा भारी उपकरण प्रयोग गरी उत्खनन गर्न मात्र रोक लगाइएको हो ।
'गोदावरी क्षेत्रमा विगतमा पहिरो र अन्य विपद्का कारण १९ जनाको ज्यान गएको छ । त्यसैले वातावरणीय तथा मानवीय सुरक्षालाई ध्यानमा राखेर भारी उपकरण प्रयोग र रात्रिकालीन उत्खननमा रोक लगाइएको हो,' उनले भने । तर व्यवसायीलाई स्वीकृत क्षेत्रभित्र दिउँसो हातैले सामग्री संकलन गर्न तथा पहिलेदेखि मौज्दात रहेको निर्माण सामग्री बिक्री–वितरण गर्न भने नगरपालिकाले कुनै रोक नलगाएको उनले स्पष्ट पारे ।
