कार्यक्रममा यूएई सरकारका उच्च अधिकारी, लगानीकर्ता, व्यवसायी, उद्यमी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए ।
What you should know
काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाललाई लगानी, व्यापार, पर्यटन र प्रविधि क्षेत्रको आकर्षक गन्तव्यका रूपमा प्रवर्धन गर्ने उद्देश्यले ‘नेपाल–यूएई आर्थिक साझेदारी’ कार्यक्रम आयोजना गरिएको छ।
अबुधाबीस्थित नेपाली दूतावासले शुक्रबार आयोजना गरेको कार्यक्रममा दुवै देशबीचको आर्थिक सम्बन्ध विस्तार र नयाँ लगानीका अवसरबारे छलफल भएको थियो । कार्यक्रममा यूएई सरकारका उच्च अधिकारी, लगानीकर्ता, व्यवसायी, उद्यमी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले नेपाल र यूएईबीचको मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक साझेदारीमार्फत थप मजबुत बनाउने पर्याप्त सम्भावना रहेको बताए। उनले नेपालमा स्वच्छ ऊर्जा, जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, उत्पादनमूलक उद्योग तथा पूर्वाधार क्षेत्रमा लगानीका प्रशस्त अवसर रहेको उल्लेख गर्दै यूएईका लगानीकर्तालाई नेपालमा लगानी बढाउन आग्रह गरे।
परराष्ट्रमन्त्री शिशिर खनालले पठाएको सन्देशमा नेपालका प्राथमिकताप्राप्त क्षेत्रमा यूएईका लगानीकर्ता र व्यवसायीहरूको थप सहभागिताको स्वागत गर्दै दीर्घकालीन तथा पारस्परिक लाभका साझेदारीका लागि नेपाल सरकार प्रतिबद्ध रहेको जनाएका थिए।
कार्यक्रममा यूएईको वैदेशिक व्यापार मन्त्रालयका अवर सचिव फहाद अल गर्गावी र यूएईका अर्थ तथा पर्यटनमन्त्रीका सल्लाहकार तथा अबुधाबी चेम्बरका कोषाध्यक्ष जुमा मोहम्मद अल कैतसहित यूएई सरकारका अधिकारी, नीतिनिर्माता तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
दूतावासका अनुसार कार्यक्रममा नेपालको आर्थिक अवस्था, लगानी वातावरण, व्यापार तथा पर्यटनका सम्भावना, नेपाल–यूएई लगानी तथा कर प्रणाली र सूचना प्रविधि क्षेत्रको विकासबारे विषयगत प्रस्तुति गरिएको थियो। प्रस्तुतिमा नेपालका प्रतिस्पर्धात्मक विशेषता, नीतिगत सुधार र डिजिटल अर्थतन्त्रका अवसरबारे जानकारी दिइएको थियो।
कार्यक्रममा १२० भन्दा बढी सहभागी रहेका थिए। सहभागीहरूमा व्यवसायी, लगानीकर्ता, प्रविधि विज्ञ, पर्यटन क्षेत्रका प्रतिनिधि, गैरआवासीय नेपाली संघ (एनआरएनए) का सदस्य तथा नेपाली मूलका व्यवसायीहरू थिए।
दूतावासले कार्यक्रममार्फत नेपाल र यूएईबीच व्यापार, लगानी र पर्यटन प्रवर्द्धनका साथै निजी क्षेत्रबीचको सहकार्य विस्तारमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रमसागै नेपाली संस्कृति र हस्तकलाको प्रदर्शन गरिएको थियो भने नेपालका व्यापार तथा लगानी सम्भावनाबारे तयार पारिएको प्रवर्द्धनात्मक भिडियो पनि प्रदर्शन गरिएको थियो।
