सरकारले खोला किनारमा रहेका सुकुमवासीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने भन्दै बस्तीबाट हटाएर होल्डिङ सेन्टरमा लगेर राखेको थियो । तर, लगातारको वर्षापछि सेन्टरभित्र पानी पसेपछि त्यहाँ बिचल्ली भएको छ । बालबालिका, वृद्धवृद्धा र अन्य आश्रितहरू समस्यामा परेका छन्।
काठमाडौँ — अविरल वर्षाका कारण कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ । सेन्टरभित्र पानी भरिएपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुमवासीहरू बिचल्लीमा परेका छन् ।
लगातारको वर्षाले होल्डिङ सेन्टरभित्रका कोठाहरूमा पानी भरिँदा उनीहरूका सबै बन्दोबस्तीका सामान डुबेका छन् । सेन्टरमा आश्रित गिर्वाणिका थापाका अनुसार पानी घुँडाभन्दा माथिसम्म आइसकेकाले सामानहरू सुरक्षित स्थानमा सार्नसमेत पाइएको छैन ।
‘यहाँ पूरै डुबान भएको छ । पानी घुँडाभन्दा माथिसम्म आइसकेकाले सामानहरू निकाल्न पनि पाएनौँ । साना बच्चाहरू डुब्ने हुन् कि भन्ने ठूलो डर भइसक्यो,’ थापाले भनिन् ।
विपद्को यति लामो समय बितिसक्दा पनि उद्धारका लागि कोही नपुगेको भन्दै उनीहरूले तत्काल उद्धारका लागि आग्रह गरेका छन् । ‘यहाँ छिटोभन्दा छिटो आएर हाम्रो उद्धार गरिदिनुहोला,’ थापाले थपिन् ।
होल्डिङ सेन्टरमै रहेकी अर्की विस्थापित प्रमिला राईले पनि आफूहरू जोखिममा रहेको बताइन् । बस्ने कोठा र सामानहरू सबै डुबेकाले बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेको उनको भनाइ छ ।
बाढी र डुबानको जोखिम बढे पनि स्थानीय प्रशासन वा उद्धार टोली अहिलेसम्म घटनास्थलमा नपुगेको भन्दै पीडितहरूले चिन्ता व्यक्त गरेका छन् ।
